मध्यपहाडी लोकमार्ग विस्तारका क्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

मध्यपहाडी लोकमार्ग विस्तारका क्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका-७, टाडीगाउँमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गको सडकखण्ड विस्तार गरी ट्र्याक खन्ने क्रममा वैशाख २२ गते दिउँसो करिब ३ बजेको समयमा सडकको माथिबाट ढुङ्गासहितको ढिस्को खसेर स्काभेटर पुरिएको हो।

ढिस्कोले बा २ क २७९२ नम्बरको स्काभेटर पुर्दा चालक रौतहटको पौराही गाउँपालिका-३ बस्ने ४१ वर्षीय दिलिप स्मालीको मृत्यु भएको हो। प्रहरीका अनुसार, ठूलो ढिस्को खस्दा चालक स्माली स्काभेटरको क्याबिनभित्रै च्यापिएका थिए, जसका कारण उनको घटनास्थलमै ज्यान गएको थियो।

दिउँसो साढे ३ बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनास्थलबाट करिब १३ किलोमिटर उत्तरमा रहेको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट प्रहरी नायव निरीक्षक (सई) सुवास थोकरको कमाण्डमा ३ जनाको टोली पुगेर घटनास्थल सुरक्षित बनाएको थियो।

त्यसपछि घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया (मुचुल्का) का लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक श्याम सुन्दर यादवको नेतृत्वमा ‘सोको’ सहित ५ जनाको विशेष टोली घटनास्थल पुगेको थियो।

प्रहरीले राति करिब साढे ९ बजे घटनास्थलको मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। वैशाख २३ गते राति २ बजे शव धुलिखेल अस्पताल पुर्याइएको र थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

वैशाख २३, २०८३ बुधबार १०:११:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।