अर्थमन्त्री वाग्ले र भौतिकमन्त्री लम्सालसहित रास्वपा सांसदहरूको ‘पूर्व बजेट छलफल’ आज हुँदै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा गर्नुअघि आज (बुधबार) आफ्ना मन्त्री र सांसदहरूबीच ‘पूर्व बजेट छलफल’ गर्ने भएको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे उक्त छलफल कार्यक्रम आयोजना गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
रास्वपाका मन्त्री र सांसदहरूबीच नियमित रूपमा हुँदै आएको छलफल कार्यक्रमअन्तर्गत नै आज बजेटलक्षित विशेष अन्तर्क्रिया हुन लागेको हो।
यस छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको प्रत्यक्ष सहभागिता रहनेछ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरिएको यस कार्यक्रममा रास्वपाका सांसदहरूले देशको समग्र आर्थिक अवस्था, विकास निर्माण र भौतिक पूर्वाधारका विषयमा अर्थमन्त्री र भौतिक मन्त्रीलाई आफ्ना सुझावहरू दिनेछन्।
बजेटलाई कसरी जनमुखी र परिणाममुखी बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।
वैशाख २३, २०८३ बुधबार ०८:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।