शिवपुरीको जंगलमा गाडिएको अवस्थामा फेला पर्यो सरिताको शव, ११ दिनदेखि थिइन् बेपत्ता
काठमाडौं : काठमाडौंको टोखा नगरपालिकास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। विगत ११ दिनदेखि बेपत्ता रहेकी तारकेश्वर नगरपालिका- ३ की ४५ वर्षीया सरिता तिवारीको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा एसपी पवन कुमार भट्टराईका अनुसार तिवारी वैशाख ११ गते बजार जाने भनेर घरबाट निस्किएकी थिइन्। उनी साँझसम्म घर नफर्किएपछि परिवारले वैशाख १२ गते खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए।
भट्टराईले भने, “बिहान बजार जानुभएको रहेछ। नफर्किएपछि १२ गते परिवारले खोजी गरिदिन रिपोर्ट लेखाउनु भएको थियो। सोही अनुसार खोज तलास गर्दा टोखा नगरपालिका १ शिवपुरी राष्ट्रिय निकुञ्जमा उनको शव फेला परेको थियो।”
खोजी गर्नेक्रममा तिवारीसँग एक व्यक्ति सम्पर्कमा रहेको अनुसन्धानबाट खुलेको थियो। सोमबार प्रहरीले तिवारीको हत्यामा संलग्न रहेको भन्दै टोखा नगरपालिका २ बस्ने वर्ष ३५ को अनिल डंगोललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ।
प्रहरीका अनुसार अनिललाई नियन्त्रणमा लिएपछि सोधपुछ गर्नेक्रममा उनले जंगलमा हत्या गरेर फालेको बताएका थिए। सोही अनुसार प्रहरीले डंगोलसहित शव गाडेको ठाउँमा पुग्दा तिवारीको शव सड्न लागेको अवस्थामा फेला परेको थियो।
एसपी भट्टराईका अनुसार सरिता र अनिलबीच करिब १ वर्षदेखि चिनजान रहेको थियो। “उहाँहरू करिब १ वर्षदेखि चिनजानमा रहेको देखिन्छ। अब के भएको हो भन्ने चाहिँ अनुसन्धानबाट खुल्ने छ। ४ दिन म्याद थप गरेर अनुसन्धान गरेपछि मात्रै भन्न सकिने अवस्था छ,” उनले भने। अहिले उक्त शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
वैशाख २२, २०८३ मंगलबार २१:३४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।