अध्यादेश जारी भए लगत्तै संसदका दुवै सदनको बैठक आह्वान
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आगामी वैशाख २८ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसदको अधिवेशन आह्वान गरिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने छ।
नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने प्रावधान रहेको छ। यसअघि राष्ट्रपति पौडेल सरकारको सिफारिसमा वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए।
तर, आह्वान गरिएको संसद अधिवेशनलाई पुनः सरकारकै सिफारिसमा स्थगन गरिएको थियो। संसद अधिवेशन स्थगन गरेपछि सरकारले आठ अध्यादेशहरू जारी गर्यो। राष्ट्रपतिबाट अध्यादेश जारी भए लगत्तै सरकारले मंगलबार संसद्को अधिवेशन आह्वानको लागि सिफारिस गरेको थियो।
वैशाख २२, २०८३ मंगलबार १८:५५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।