शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश गरेको छ। 

न्यायाधीश मोना सिंहको इजलासले मंगलबार गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुनेछन्।

आदेशमा भनिएको छ, “प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन।”

व्यवसायी गोल्छालाई धितोपत्र र बिमासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख १४ गते पक्राउ गरेको थियो। 

वैशाख २२, २०८३ मंगलबार १८:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।