पार्टी विवाद सुल्झाउन गगनको सक्रियता : शेखरसँग भेट, पूर्णबहादुरसँग संवादको तयारी
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भयो। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि दुई नेताबीच पहिलो पटक औपचारिक संवाद भएको थियो।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको करिब एक घण्टा लामो छलफलमा पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको मतभेदलाई न्यून गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ। सभापति थापा अदालतको फैसलासँगै पार्टीको आधिकारिकतासम्बन्धी अन्योल हटेकाले अब सबै पक्षसँग संवाद गरी एकता कायम गर्ने प्रयासमा देखिएका छन्।
सोहीक्रममा उनले मंगलबार साँझ नै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट्ने तय भएको छ। महाराजगञ्जस्थित खड्काको निवासमा हुने उक्त भेटमा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुने बताइएको छ।
यसअघि भएको भेटमा नेता खड्काले पार्टी एकताका लागि स्पष्ट रोडम्यापको माग गरेका थिए। सर्वोच्च अदालतले खड्काद्वारा दायर रिट खारेज गरेपछि पार्टीको संस्थापन पक्ष र देउवा पक्षबीच औपचारिक संवादको ढोका खुलेको छ।
नेता मीन विश्वकर्माका अनुसार पार्टीको आधिकारिकता प्राप्त पक्षले एकताका लागि ठोस पहल र प्रस्ताव ल्याउनुपर्ने अडानमा देउवा पक्ष छ। केही दिनअघि धुम्बाराहीमा भएको देउवा पक्षीय भेलाले एकताका लागि संस्थापन पक्षसँग औपचारिक प्रस्ताव माग गर्ने निर्णय गरेको थियो।
वैशाख २२, २०८३ मंगलबार १७:५२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।