जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता हुने, साना बचतकर्तालाई प्राथमिकता

जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता हुने, साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ।

गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका वचतकर्ताहरुलाई वचत रकमको आधारमा दुई समूह बनाएर पहिला साना वचतकर्ताहरुको रकम फिर्ता शुरु गर्ने तयारी गरेको हो। 

समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ। त्यसमा पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ। ७६ हजार वचतकर्तामध्ये पाँच लाखभन्दा बढी बचत गर्नेको संख्या १८ हजार मात्र रहेको समितिका सदस्यसचिव रविन ढकालले जानकारी दिए। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिइन्। 

“सहकारी बचतकर्ताको रकम फिर्ता गर्नेबारे धेरै काम गरिसकेका छौँ। साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौं,” उनले भनिन्। 

समितिले आफ्नो कार्यविधि तय गर्दै ‘बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने’ जनाएको छ। समितिले मागदाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने जनाएको छ।

फिर्ता गर्ने रकमको स्रोत भने खुलाइएको छैन। हालै सरकारले सहकारी ऐनमा अध्यादेशबाट गरेको संशोधनमा चक्रिय कोष बनाउने र त्यसमा सरकारको समेत रकम रहने प्रावधान राखेको छ। अध्यादेशमा सहकारीका ऋणी, रकम अपचलनमा संलग्नहरुबाट असुलेको रकमसँगै सरकारले समेत कोषमा रकम दिने र पछि सो रकम फिर्ता लिने कानुनी व्यवस्था गरिएको छ।

समितिले सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने बताएको छ।

नेपालका ठूला सहकारी ठगी प्रकरणमध्ये एकमा वर्तमान सत्ताधारि दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने समेत जोडिएका छन्। उनी पाँच जिल्लाका पाँच सहकारीको वचतकर्ताहरुको रकम अपचलनमा मुद्दा खेपिरहेका अभियुक्त हुन्।

वैशाख २२, २०८३ मंगलबार १६:२५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।