महाधिवेशन गर्न नसकेका कांग्रेसका पाँच भ्रातृ संस्था विघटन

महाधिवेशन गर्न नसकेका कांग्रेसका पाँच भ्रातृ संस्था विघटन

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका पाँच वटा भ्रातृ संस्थाहरूको केन्द्रीय कार्यसमिति विघटन गरेको छ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद समाप्त भएका र महाधिवेशन गर्ने आधार नदेखिएका समितिहरूलाई निरन्तरता नदिने निर्णय गरेको थियो। 

विघटन हुने भ्रातृ संस्थाहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन्। ती संस्थाहरूले तोकिएको २०८१ चैत मसान्तको समय सीमाभित्र महाधिवेशन गर्न सकेका थिएनन्।

पार्टीको २०८२ असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका पेश गर्ने संघहरूका हकमा मात्र समयावधि थप गरेको थियो। तर, निर्देशक समितिले सहजीकरण गर्दा समेत अधिकांश संघहरूले महाधिवेशनको तयारी नगरेको र अधिवेशन गर्ने आधार समेत नदेखिएको कार्यसम्पादन समितिको ठहर छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सार्वजनिक गरेका निर्णयअनुसार म्याद सकिएका समितिहरूले तोकिएको समय अवधिमा गरेका निर्णय र मनोनयनहरू समेत विधानतः स्वतः अवैध भएका छन्। तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसकेका थिए।

पार्टी विधानको धारा ४२(१) बमोजिम अधिवेशन हुन नसकेका यी सबै भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी केन्द्रीय कार्यसमितिका सभापतिलाई दिइएको छ। अब सभापतिले नयाँ तदर्थ समितिहरू गठन गर्ने र ती समितिहरूले नै महाधिवेशन सम्पन्न गर्ने पार्टीले जनाएको छ।

यसअघि कांग्रेसले लामो समयदेखि अधिवेशन हुन नसकेका १० वटा भ्रातृ संस्थाको कार्यसमिति २०७८ फागुन ३ मा विघटन गरी तदर्थ समिति बनाएको थियो। तर, ती समितिहरूले पनि लामो समयसम्म जिम्मेवारी पूरा गर्न सकेका थिएनन्।

विघटनको निर्णयबाट नेपाल थारु संघ भने बाहिर रहेको छ। थारु संघले आगामी २०८३ जेठ १६ र १७ गते महाधिवेशनको मिति तय गरिसकेकाले कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्न जेठसम्मका लागि समयावधि थप गरिएको छ। 

वैशाख २२, २०८३ मंगलबार १५:३९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।