नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने, जेठमा परीक्षण गरिने
काठमाडौं : बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ।
जेठ अन्तिमसम्ममा परीक्षण (ट्रायल) सम्पन्न गरी साउनबाट सर्वसाधारणका लागि सुरुङमार्ग खुला गर्ने तयारी गरेको आयोजना प्रमुख सौजन्य नेपालले बताए।
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार गरेको स्थलगत अनुगमनका क्रममा आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
उनका अनुसार गत वर्ष साउन–भदौमा परेको भारी वर्षाका कारण पश्चिमी छेउमा पहिरो जाँदा टोल बुथ संरचनामा क्षति भएपछि निर्माण तथा सञ्चालनमा ढिलाइ भएको थियो।
परामर्शदाता प्रमुख रमेश कोइरालाले कानुनी प्रक्रिया, बन्द–हडताल तथा सञ्चालन मोडालिटी परिवर्तनका कारण पनि ढिलाइ भएको बताए। सुरुमा सडक विभागमार्फत सञ्चालन गर्ने योजना रहे पनि पछि प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्ने निर्णय भएपछि प्रक्रिया मन्त्रिपरिषद्सम्म पुगेको उनले जानकारी दिए।
आयोजनाको हालसम्मको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ। निर्माण कम्पनीले चाँडै आयोजना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।
सुरुङमार्ग सञ्चालनका लागि चीनको युसिन–एआरटी (संयुक्त) कम्पनीलाई पाँच वर्षका लागि ठेक्का दिइएको छ। आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनका लागि करिब १५० जना जनशक्ति आवश्यक पर्नेछ।
वैशाख २२, २०८३ मंगलबार १२:०५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।