उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ। 

काठमाडौंको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यहरूका लागि आज बिहानदेखि मतदान सुरु भएको हो।

महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्। जिल्ला/नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ।

जिल्ला/नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई/दुई जनाको उम्मेदवारी परेको छ। निर्वाचनमा व्यवसायीहरू प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। 

यो निर्वाचन सम्पन्न भएपछि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वतः अध्यक्षको कार्यभार सम्हाल्नेछन्।

सोमबार ललितपुरको ग्वार्खोस्थित होटल टुलिपमा महासंघको ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो।

वैशाख २२, २०८३ मंगलबार ११:५१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।