नर्सिङ पढ्ने १५ वर्षीया किशोरीलाई बसभित्रै बलात्कार, चालकविरुद्ध १४ वर्ष कैद र ५ लाख जरिवानाको मागदाबी
काठमाडौं : काठमाडौंको सामाखुसीमा गुडिरहेको पर्यटकीय बसभित्र एक १५ वर्षीया नर्सिङ विद्यार्थीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोटका २७ वर्षीय बस चालक दीपक गिरीविरुद्ध मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्दै गिरीलाई हदैसम्मको सजाय माग गरेको हो।
अभियोग पत्रका अनुसार २०८२ वैशाख ५ गते बिहान भक्तपुरको दुवाकोटबाट काठमाडौं आउने क्रममा बा.२ख ६९१९ नम्बरको बसका चालक गिरीले ती किशोरीलाई ललाइफकाई बलात्कार गरेका थिए।
पीडित किशोरी नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्समा स्टाफ नर्सिङ विषयमा अध्ययनरत थिइन्।
चालक गिरीले किशोरीलाई बसको अगाडिको सिटमा बसाएर ‘नसालु पदार्थ’ मिसाइएको चकलेट खान दिएका थिए।
चकलेट खाएपछि किशोरीलाई रिङ्गटा लाग्न थालेको र उनले कलेज जान नसक्ने बताएपछि गिरीले ‘कलेजसम्मै पुर्याइदिन्छु’ भन्दै अन्य यात्रु ओरालेर सामाखुसीको एक एकान्त स्थानमा बस रोकेका थिए।
त्यसपछि बसको ढोका र पर्दा लगाई, सहचालकलाई बाहिर पठाएर गिरीले मुखमा रुमाल कोची ज्यान मार्ने धम्की दिँदै किशोरीलाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ।
सरकारी वकिलले दायर गरेको अभियोग पत्रमा अभियुक्त गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१), (२) र (३) को खण्ड (ग) बमोजिमको कसुरमा सजाय माग गरिएको छ। पीडितको उमेर १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम भएकाले गिरीलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ।
यसका साथै, सोही संहिताको दफा २१९ (३क) को खण्ड (ख) बमोजिम थप ५ लाख रुपैयाँ जरिवाना र दफा २२८ बमोजिम पीडितलाई अभियुक्तबाटै उचित क्षतिपूर्ति भराउन समेत अदालतसमक्ष अनुरोध गरिएको छ।
प्रहरीले संकलन गरेको प्रमाणमा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन समावेश छ, जसले शारीरिक चोट र करणी भएको पुष्टि गरेको छ। यस्तै, घटनास्थल मुचुल्का, बसका साहु र अन्य प्रत्यक्षदर्शीहरूको बयानलाई पनि मुख्य प्रमाणका रूपमा लिइएको छ।
प्रहरीले सामाखुसी क्षेत्रको सीसीटीभी फुटेज र अभियुक्तको मोबाइल लोकेसनका आधारमा अनुसन्धान पूरा गरेको थियो। अभियुक्त गिरीले सुरुमा इन्कारी बयान दिए पनि प्राप्त प्रमाण र पीडितको बयानले घटनाको पुष्टि गरेको अभियोग पत्रमा उल्लेख छ।
वैशाख २२, २०८३ मंगलबार १०:२६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।