सरकारी नियन्त्रणमा आइसकेको ‘स्मार्ट टेलिकम’को सम्पत्ति हिनामिना गर्न खोजेको आरोपमा सर्बेश जोशी पक्राउ
काठमाडौं : नेपाल सरकारको नियन्त्रणमा आइसकेको ‘स्मार्ट टेलिकम’को सम्पत्ति बेइमानीपूर्वक हिनामिना गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा ४५ वर्षीय सर्बेश जोशीलाई पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका वडा नं. २, खुर्खानीटार बस्ने जोशीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर वैशाख २१ गते उनकै निवास क्षेत्रबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
स्मार्ट टेलिकम प्रा.लि.ले आफ्नो आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (लाइसेन्स) नियमानुसार नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को प्रावधान अनुसार २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो।
लाइसेन्स खारेज भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले 'दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९' बमोजिम स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो।
सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठका अनुसार, यसरी पूर्ण रूपमा नेपाल सरकारको नियन्त्रणमा आइसकेको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक टुट्ने (गुम्ने) उद्देश्यका साथ कार्य गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको हो।
पक्राउ परेका जोशीमाथि हाल सीआईबीले ठगी तथा आपराधिक विश्वासघात कसुरमा थप अनुसन्धान गरिरहेको छ।
वैशाख २२, २०८३ मंगलबार १०:०२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।