काभ्रेमा भारी वर्षा : रोशी खोलामा फसेका ८९ यात्रु र ३५ विद्यार्थीको मध्यरातमा सकुशल उद्धार
काभ्रेपलाञ्चोक : भारी वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा बाढीमा फसेका १२४ जनाको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
सोमबार रोशी खोलामा फसेका ५ वटा गाडीका ८९ यात्रु र धुलिखेलमा फसेको स्कुल बसका ३५ जनाको मध्यरातमा उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका ५ वटा ईभी (विद्युतीय) हाइस गाडी रोशी गाउँपालिका-७ घुमाउनेस्थित रोशी खोलामा फसेका थिए।
वर्षाका कारण खोलामा पानीको सतह बढेर सडक कटान गरेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो। साँझ करिब ६ बजेतिर गाडीहरू फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको थियो।
सुरुमा डोरीको सहायता (रोप रेस्क्यु) बाट उद्धारको प्रयास गरिए पनि बहावका कारण त्यो सम्भव हुन सकेन। त्यसपछि सशस्त्र प्रहरीको नम्बर १६ गण सिन्धुपाल्चोक र अस्थायी मनसुन प्रतिकार्य बेस पनौतीबाट विपद् व्यवस्थापन तालिम प्राप्त थप टोली बोलाइएको थियो।
उक्त विशेष टोलीले र्याफ्ट बोटको सहायताले रिभर क्रसिङ विधिमार्फत मध्यरातमा सबै यात्रुको सकुशल उद्धार गरेको हो।
उद्धार गरिएका ८९ जनामध्ये ६ जना बालबालिका, ३५ जना महिला र ४८ जना पुरुष रहेका छन्। यद्यपि, खोलामा फसेका ५ वटै गाडी (बा ४ ख ५२६१, बा ४ ख ६३५५, बा ५ ख ३१५८, बागमती प्रदेश ०१-००६ ख ७५९६ र बागमती प्रदेश ०८-००१ ख ००७७) भने अझै घटनास्थलमै रहेको जनाइएको छ।
यसैगरी, शुक्रबार नै काभ्रेकै धुलिखेल नगरपालिका-५ स्थित बनेपा-खड्पु भित्री सडक खण्डमा फसेको एउटा स्कुल बसबाट पनि विद्यार्थी र शिक्षकको सकुशल उद्धार गरिएको छ।
'लिन इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुल'को बस बाढी र हिलोमा फसेको खबर प्राप्त हुनासाथ पनौतीस्थित सशस्त्र प्रहरीको मनसुन प्रतिकार्य बेसबाट टोली खटिएको थियो। उक्त टोलीले बसमा सवार ३० जना विद्यार्थी र ५ जना शिक्षकसहित ३५ जनालाई सुरक्षित स्थानमा निकालेको डीएसपी थापाले जानकारी दिए।
वैशाख २२, २०८३ मंगलबार ०८:३७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।