घरमा सम्पत्ति शुद्धीकरणको छापा परेपछि मुख्यमन्त्री बानियाँले भने, 'चरित्रमाथि आघात पुग्यो'

घरमा सम्पत्ति शुद्धीकरणको छापा परेपछि मुख्यमन्त्री बानियाँले भने, 'चरित्रमाथि आघात पुग्यो'

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र व्यावसायिक कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेपछि आपत्ति जनाएका छन्।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर बानियाँले हेटौँडा र काठमाडौंस्थित घर तथा आफू संलग्न रहेको ‘बानियाँ निर्माण सेवा’को कार्यालयमा विभागले छापा मारेर कागजात नियन्त्रणमा लिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख जनाएका छन्।

विगत ४० वर्षभन्दा लामो राजनीतिक यात्रा पश्चात् हाल मुख्यमन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गरेका उनले सुशासनका कार्यमा सहयोग गर्न आफू तत्पर रहेको भनेका छन्। तर, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको दाबी गरेका बानियाँले छापा परेपछि भने आफ्नो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको भनेका छन्। 

विज्ञप्तिमा उनले भनेका छन्, “राजनीतिक र व्यावसायिक जीवनका बारेमा गरिने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु। तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्र माथि आघात पुगेको महसुस भएको छ।”

राज्यका निकायले बोलाउँदा आफू भौतिक रूपमै उपस्थित हुन तयार रहेको अवस्थामा पूर्व जानकारी बिना छापा मारिएको उनको भनाइ छ। बानियाँले विज्ञप्तिमा अगाडि भनेका छन्, “राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारी प्रति आपत्ति जनाउँदछु।”

संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने उनको भनाई छ। बानियाँले भनेका छन्, “सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेश बासी एवम् मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्दछु। म यहाँहरूको सेवामा सधैँ तत्पर रहनेछु।”

वैशाख २१, २०८३ सोमबार १७:५८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।