राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अवसरमा बदलौँ : चन्द्र ढकाल

राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अवसरमा बदलौँ : चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वर्तमान राजनितीक स्थायित्वलाई आर्थिक समृद्धिको अभुतपूर्व अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ६ दशक लामो यात्राले सानादेखि ठूला व्यवसायीलाई एउटै मञ्चमा जोडेर राष्ट्रिय उद्यमशीलताको जग बसालेको बताए।

कार्यक्रममा बोल्दै उनले भने,"वर्तमान राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ।"

सरकारले महासंघको आग्रह बमोजिम निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति (पिएसपीपी) पारित गरेकोमा आभार व्यक्त गर्दै यसले व्यवसायीलाई भौतिक र नीतिगत सुरक्षाको प्रत्याभूति दिने उनले विश्वास व्यक्त गरे। 

दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै ढकालले आवश्यक कानुनी संशोधन, परिमार्जन तथा खारेजी प्रक्रियालाई तीव्र बनाउन आग्रह गरे। महासङ्घले यसअघि नै आर्थिक रूपान्तरणका लागि कानुनी सुधारको माग गर्दै आएको उनको भनाइ छ । 

उनले निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरणमा काम गर्न दिए आर्थिक प्रगतिको पर्याप्त सम्भावना रहेको बताए।

“निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरणमा काम गर्न दिइयो भने नेपालसँग तीव्र आर्थिक प्रगतिको पर्याप्त सम्भावना छ,” उनले भने। 

नेपालको जनसङ्ख्याको औसत उमेर करिब २५ वर्ष रहेको र छिमेकी भारत र चीन जस्ता ठूला बजार नजिक हुनु मुलुकका लागि अवसर भएको ढकालले बताए। साथै विकसित मुलुकहरूमा भन्साररहित पहुँचका कारण नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने उनको धारणा छ। 

देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा हरेक वर्ष करिब सात लाख युवा विदेशिन बाध्य भएकामा चिन्ता व्यक्त गर्दै उनले भने, “उच्च ज्यालासहितको रोजगारी सृजना नगरेसम्म निराशालाई आशामा बदल्न सकिँदैन।”

ढकालले नेपाल र दक्षिण कोरियाबीचको प्रतिव्यक्ति आयको तुलना गर्दै सुधारको गति अपेक्षाभन्दा कम रहेको स्वीकार गरे। “हामीले प्रगति त गरेका छौँ, तर सम्भावनाअनुसारको उपलब्धि हासिल गर्न सकेका छैनौँ,” उनले भने। 

पछिल्लो समय मध्यपूर्वमा देखिएको सङ्कटले नेपालको अर्थतन्त्रमा जोखिम बढाएको उल्लेख गर्दै उनले पर्यटन, रेमिट्यान्स र इन्धन लागतमा असर परेको बताए। यस्तो अवस्थामा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने उनको भनाइ छ। 

ढकालले हाल देशको कुल रोजगारीमध्ये करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरिरहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे। “अत्यधिक नियमनका कारण लगानी वातावरण प्रभावित भएको छ,” उनले भने। 

बङ्गलादेश, रुवान्डा, कम्बोडिया, भियतनाम र लाओसजस्ता मुलुकहरूले निजी क्षेत्रलाई प्रोत्साहन दिएर तीव्र आर्थिक प्रगति हासिल गरेको उदाहरण प्रस्तुत गर्दै ढकालले नेपालले पनि त्यही बाटो अपनाउनुपर्ने धारणा राखे। 

उनले लगानी वृद्धि, प्रविधिको उच्चतम प्रयोग, सदाचार प्रवर्द्धन र उत्पादनमूलक क्षेत्रको विस्तारमार्फत आर्थिक सुधारलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। साथै, स्वदेशी पुँजी परिचालनका लागि लगानी कम्पनी स्थापना गर्ने महासङ्घको योजना कार्यान्वयनमा रहेको जानकारी पनि दिए। 

ढकालले सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्दै मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे।

वैशाख २१, २०८३ सोमबार १७:३०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।