संविधान संशोधनको गृहकार्य तीव्र : पूर्व राष्ट्रसेवकसँग सुझाव लिँदै कार्यदल
काठमाडौं : संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनको गृहकार्यलाई तीव्रता दिएको छ। कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् र पूर्व प्रशासकहरूसँग छलफल गर्दैछ।
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उनीहरूसँग सुझाव लिन लागेको हो।
गत वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार विज्ञहरूबाट संविधान संशोधनका विषयमा सुझाव संकलनका कार्य अघि बढाइएको कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले जानकारी दिए।
संविधान संशोधनका लागि बहस पत्र तयार पार्न कार्यदलले यसअघि संविधानविद्, कानुन व्यवसायी तथा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिसकेको छ।
सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’को प्राथमिकताअनुसार गठित कार्यदलले देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार र निर्वाचन प्रणालीलगायतका विषयमा राष्ट्रिय सहमति निर्माणको कार्यादेश पाएको छ। कार्यदलले अबको चरणमा पूर्व राष्ट्रपति, पूर्व प्रधानन्यायाधीश, सञ्चारमाध्यम, निजी क्षेत्र, ‘जेन-जी’ पुस्ता र स्थानीय तहका प्रतिनिधिहरूसँग समेत छलफल गर्ने कार्यतालिका तय गरेको छ।
मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार गठित यस कार्यदलमा संघीय संसदका राजनीतिक दलका प्रतिनिधिहरू र सरकारका उच्चपदस्थ प्रशासनिक एवं कानुनी अधिकारीहरू सहभागी छन्। कार्यदलले सबै क्षेत्रका सुझावहरूलाई एकीकृत गरी ‘संविधान संशोधन बहस पत्र’लाई अन्तिम रूप दिने तयारी गरेको छ।
वैशाख २१, २०८३ सोमबार १६:४३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।