भृकुटी कागज कारखानाका ३३३ श्रमिकको ४० करोड बक्यौता तिर्न र ६० बिघा जग्गा व्यवस्थापन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं : नवलपुरको गैंडाकोटस्थित भृकुटी कागज कारखानाका श्रमिकहरूको बक्यौता भुक्तानी र कारखानाको जग्गा उचित व्यवस्थापनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।
सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान’ले सोमबार नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका हुन्।
अभियानका तर्फबाट बुझाइएको ज्ञापनपत्रमा विगत १५ वर्षदेखि बन्द अवस्थामा रहेको कारखानाले श्रमिकहरूको करोडौं रुपैयाँ भुक्तानी नगरेको र कारखानाको ६० बिघा जग्गा खण्डहर बनेर बजारको सौन्दर्य र सुरक्षामा गम्भीर असर पुर्याएको उल्लेख छ।
वि.सं. २०६७ देखि पूर्ण रूपमा बन्द रहेको भृकुटी कागज कारखानामा कार्यरत तिन सय ३३३ जना श्रमिकहरूले ४० करोड रुपैयाँभन्दा बढी ज्याला पाउन बाँकी रहेको भन्दै सो रकम तत्काल राज्यको पहलमा भुक्तानी गर्न र करिब ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्न स्पष्ट योजना ल्याई कार्यान्वयन गर्न माग गरिएको छ।
५ दिनभित्र आफ्नो माग सम्बोधन नगरे आन्दोलनको कार्यक्रम अगाडि बढाउने उनीहरूको चेतावनी छ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, वि.सं. २०४० सालमा स्थापना भई निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण गरिएको यो कारखाना अहिले खण्डहर र दुर्व्यसनीहरूको अखडा बनेको छ। हुरीबतास चल्दा कारखानाका पुराना जस्तापाता उडेर नजिकैको मानव बस्तीमा त्रास फैलिने गरेको छ।
लामो समयदेखि आफ्नो श्रमको उचित मूल्य नपाएर कतिपय पीडित मजदुरहरूको मृत्यु भइसकेको भन्दै युवाहरूले राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन्।
वैशाख २१, २०८३ सोमबार १६:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।