भक्तपुरका सरकारी तालिम केन्द्र अब सुकुम्बासीको सहारा
भक्तपुर : काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई भक्तपुरको दुई ‘सेल्टर’मा आश्रय दिएको छ।
भक्तपुरको खरिपाटीस्थित चाँगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रूपमा अस्थायी बासस्थनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
यहाँ ल्याइएका सुकुम्बासीलाई खाने र बस्ने निःशुल्क व्यवस्था गरेको छ। खरिपाटीस्थित तालिम केन्द्रमा १४० जना सुकुम्बासीलाई राखिएको छ भने यहाँ राखिएकाहरूलाई होस्टेलमा परिवार-परिवार छुटाएर फरक कोठामा राखिएको छ।
यसअघि कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई सोही स्थानमा ४५ दिनसम्म राखिएको थियो। त्यसपछि कोरोना सङ्क्रमितलाई पनि राखिएको यस केन्द्रमा २५० जना अट्ने क्षमताको रहेको केन्द्रले जानकारी दिएको छ।
टेकु सुकुम्बासी बस्तीबाट सरकारले आफूहरूलाई गाडीमा राखेर यहाँ पुर्याइएको बताउँदै केही सुकुम्बासीले तत्काल भए पनि खानबस्न पाइरहेको बताए। यहाँ राखिएका सुकुम्बासीहरुको अवस्था बुझ्नका लागि प्रधानमन्त्री कार्यालयअन्तर्गतको सचिवालयको एउटा टोली आइतबार यहाँ आएको थियो।
त्यसैगरी, सरकारले ३९ जना सुकुम्बासीलाई मध्यपुरथिमिको सिन्टिटारस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा राखेको छ। उनीहरूको पनि आवास र खानाको व्यवस्था गरेको छ।
दुवै सेल्टरमा रहेका सुकुम्बासीका लागि वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा सुमित्रा गौतमले तत्काल स्वास्थ्य सेवा पुर्याउन निर्देशन दिएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले आइतबार सरकारले सुकुम्बासी राखेको मध्यपुरथिमि र चाँगुनारायणको दुवै सेल्टरमा भक्तपुर अस्पतालको चिकित्सकसहितको टोलीले सामान्य स्वास्थ्य परीक्षण गरेको र आज दुवै सेल्टरमा स्वास्थ्य शिविर, औषधि वितरण र मनोपरामर्श सेवा उपलब्ध गराउने जानकारी दिए।
वैशाख २१, २०८३ सोमबार १५:१६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।