भारतसँग ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने सरकारको निर्णय, जीटुजी प्रक्रियाका लागि सैद्धान्तिक स्वीकृति

भारतसँग ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने सरकारको निर्णय, जीटुजी प्रक्रियाका लागि सैद्धान्तिक स्वीकृति

काठमाडौं : सरकारले रासायनिक मलको अभाव टार्न भारतसँग सरकार-देखि-सरकार (जीटुजी) प्रक्रियामार्फत ८० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले कृषि क्षेत्रमा मलको माग र आपूर्तिलाई व्यवस्थित गर्न भारतसँग सोझै खरिद गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

‘भारतसँग जीटुजी खरिद माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ’, मन्त्री पोखरेलले भने।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव र ठेक्का प्रक्रियामा हुने ढिलाइका कारण समयमै मल नपाउने समस्या अन्त्य गर्न सरकारले जीटुजी प्रक्रियालाई प्राथमिकता दिएको हो।

यो निर्णयसँगै कृषि सामग्री कम्पनीले भारत सरकारसँग आवश्यक समन्वय गरी मल खरिदको प्रक्रिया सुरु गर्नेछ। यस कदमले आगामी बालीको समयमा किसानहरूलाई मलको सहज उपलब्धता हुने सरकारको अपेक्षा छ।

वैशाख २१, २०८३ सोमबार १३:४१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।