मन्त्रिपरिषद् बैठक बस्दै, ४ मन्त्रालय खारेज र ६ वटा गाभ्ने प्रस्ताव पेश हुने

मन्त्रिपरिषद् बैठक बस्दै, ४ मन्त्रालय खारेज र ६ वटा गाभ्ने प्रस्ताव पेश हुने

काठमाडौं : सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउने तयारी स्वरूप केही मन्त्रालय खारेज र गाभ्ने सम्बन्धी प्रस्ताव आज मन्त्रिपरिषद् बैठकमा पेस गर्दैछ। बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, आजको बैठकमा हाल कायम रहेकामध्ये ४ वटा मन्त्रालय खारेज गर्ने र अन्य ६ वटा मन्त्रालयलाई गाभेर नयाँ नाम कायम गर्ने विषयको विस्तृत खाकामाथि छलफल हुनेछ। मन्त्रालय पुनर्संरचनाको यो काम अन्तिम चरणमा पुगेको बताइएको छ।

‘चारवटा मन्त्रालय खारेज हुनेछन् भने छ वटाको नाम परिवर्तन हुनेछ। हाल मन्त्रालयअन्तर्गत रहेका केही महत्त्वपूर्ण विभाग वा निकायलाई भने छुट्टाएर सीधै प्रधानमन्त्रीको मातहतमा ल्याउने तयारी छ’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

सरकारले मन्त्रालयको पुनर्संरचनासम्बन्धी अध्ययन गर्न केही समयअघि प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले संघमा बढीमा १७ वटा मात्र मन्त्रालय राख्न सिफारिस गर्दै आफ्नो प्रतिवेदन बुझाइसकेको छ।

सोही प्रतिवेदन र सिफारिसका आधारमा सरकारले मन्त्रालय खारेज तथा गाभ्ने अन्तिम तयारी गरेको हो। आजको मन्त्रिपरिषद् बैठकले उक्त खाकालाई पारित गरेमा संघीय सरकारको प्रशासनिक संरचनामा महत्त्वपूर्ण हेरफेर हुनेछ।

वैशाख २१, २०८३ सोमबार ०८:१९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।