राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारलाई नै फिर्ता
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलज्यूले मन्त्रिपरिषद्बाट सिफारिस भई आएको 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३' लाई पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाएका छन्। अन्य अध्यादेश जारी गरे पनि यो अध्यादेश भने आइतबार फिर्ता पठाएका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपतिले नेपालको संविधान बमोजिम उक्त अध्यादेशको विषयवस्तुमा पुनर्विचार गर्न आवश्यक ठानेर सरकारसमक्ष फिर्ता पठाएका हुन्।
विज्ञप्तिमा यसअघि पनि संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ असार २५ गते प्रमाणीकरणका लागि पेस भएकोमा राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको प्रसङ्ग उल्लेख छ।
तत्कालीन मन्त्रिपरिषद्को २०८२ मङ्सिर २ गतेको निर्णय बमोजिम प्राप्त भएको पहिलो संशोधन अध्यादेश जारी नभएको सन्दर्भलाई समेत राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा ‘२०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सिफारिस भई आएको हालको अध्यादेशका सम्बन्धमा राष्ट्रपतिले संवैधानिक प्रक्रिया र पूर्व निर्णयहरूलाई ध्यानमा राख्दै पुनर्विचार गर्न उचित ठान्नुभएको’ उल्लेख छ।
वैशाख २०, २०८३ आइतबार १७:५३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।