सुकुमबासी बस्तीमा डोजर चल्न होल्ड भयो, तर सेल्टरको दुख होल्ड भएन

सुकुमबासी बस्तीमा डोजर चल्न होल्ड भयो, तर सेल्टरको दुख होल्ड भएन

काठमाडौं : वैकल्पिक व्यवस्थापनको योजना नै नबनाई अव्यवस्थित होल्डिङ सेन्टर र केही गेस्ट हाउसमा राख्नेसरि सरकारले काठमाडौं उपत्यकाको नदी किनारका सुकुमबासी बस्तीमा एकाएक डोजर चलायो । राम्रोसँग सामान समेत सार्ने समय नदिएर प्रहरीको नाल र सेनाको व्याकअपमा घरबारहीन बनाइएका केही आफन्तकोमा बसे, डेरा खोज्न भ्याएकाहरू डेरामा सरे। जसको न आफन्त न डेरा उनीहरू सरकारले जता राख्छु भन्यो त्यतै लागे।

केही कीर्तिपुरको बागमती किनारमा बनेको होल्डिङ सेन्टर पुगे त केही काठमाडौं महानगरले राख्छु भनेको गेस्ट हाउसमा पुगे। शनिबारसम्म काठमाडौंका खोला किनारमा डोजर चल्ने क्रम जारी रह्यो। यो क्रममा दुई जनाको ज्यानै गयो। बालबालिकाहरूको विद्यालय छुट्यो।

चौतर्फी आलोचना भएपछि सरकारले जोखिमपूर्ण नदी किनारामा रहेको बस्ती हटाउने क्रम सकिएको दाबी गर्दै अब डोजर चल्ने क्रम होल्ड भएको दाबी गर्यो। आइतबार अनामनगरको एक सात तले भवनमा डोजर लाग्यो। तर अन्य कुनै बस्तीमा डोजर छिरेन।

सरकारले  थापाथली, गैरीगाउँ, मनोहरा क्षेत्र, गोङ्गबु लगायतका क्षेत्रको नदी किनारमा रहेको बस्तीमा डोजर चलाएको थियो। ती बस्तीबाट कति बसोबासी घरबारहीन भए भन्ने एकिन विवरण अहिलेसम्म महानगरले सार्वजनिक गरेको छैन।

आइतबार  प्रहरीको बन्दुकको बलमा बस्तीमा छिर्ने डोजर होल्ड भए पनि घर-टहरा भत्काएर सेल्टर र गेस्ट हाउसमा लगिएकाहरूको दुख भने होल्ड भएको देखिएन। 

नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट रहेको त्यसको मर्मत गरेर घरबारहीन भएकाहरूलाई राख्ने दाबी गरिएको थियो। त्यस अनुसार मर्मत सुरु भएको दाबी गरिएको थियो। तर अहिलेसम्म पनि नागार्जुनमा कुनै सुकुमबासीलाई लगिएको खुलेको छैन।

विभिन्न ठाउँबाट उठाएका सुकुमबासी बस्तीका बालबालिकाहरू नजिकै रहेको सरकारी विद्यालयमा पढ्ने गरेका थिए। उनीहरूलाई राखिएको होल्डिङ सेन्टर र गेस्ट हाउसहरू सरकारी स्कुलभन्दा टाढा छन्। उनीहरूलाई विद्यालय पुर्याउन महानगर र सरकार कुनै निकायले पनि पहल गरेका छैनन्। उनीहरू दिनभर गेस्ट हाउस र होल्डिङ सेन्टरमा खेलेर दिन बिताइरहेका छन्।

होल्डिङ सेन्टरमा आवश्यक सुविधा समेत नहुँदा सुकुमबासी बस्तीको टहराको बसाई भन्दा बढी कष्टकर देखिन्छ। तर जाने ठाउँ नभएका नागरिकहरु सरकारले जहाँ, जसरी राखे पनि बस्न बाध्य छन्।

वैशाख २०, २०८३ आइतबार १७:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।