गुम्बामा आश्रित बाढीपीडित छोक्पा भन्छिन् : 'भागेर ज्यान त बच्यो, तर भविष्य बाढीमै हरायो'

गुम्बामा आश्रित बाढीपीडित छोक्पा भन्छिन् : 'भागेर ज्यान त बच्यो, तर भविष्य बाढीमै हरायो'

“आमा, यहाँ पनि खोला आउँछ? यहाँ पनि बाढी आयो भने हामी कहाँ जाने? हाम्रो गाउँ जाने बाटो त छैन।”

काठमाडौंको नागार्जुनस्थित गोसोक गुम्बाको साँघुरो ओछ्यानमा बसेर ६ वर्षीया छोराले बेलाबेलामा जब यस्ता प्रश्न सोध्छन्, छोक्पा तामाङसँग आश्वस्त पार्ने कुनै जवाफ हुँदैन। उनी चुपचाप छोरालाई अँगालेर काखमा राख्छिन् र विद्यालय पठाउन गुम्बाको गेटसम्म पुग्छिन्।

छोक्पाको घर रसुवाको स्याफ्रुबेँसी बजारमाथिको डाँडामा पर्छ। गएको भदौ १० गते भोटेकोशीमा उर्लिएको विनाशकारी बाढीले उनको घर त ढालेन, तर बस्तीको जनजीवन भने पूरै उजाडिदियो। अब त्यहाँ न छिमेकीहरू छन्, न जीवनको कुनै नय नै। बाढीले गाउँ र परिवारको खुसी एकैछिनमा सोहोरेर लग्यो। 

बाढीको त्रास र अनिश्चित भविष्य बोकेर उनी घटनाको चार दिनपछि काठमाडौं ओर्लिएकी हुन्। गाउँका अन्य बाढी विस्थापितहरूसँगै उनी अहिले नागार्जुनस्थित गोसोक (पहेँलो) गुम्बामा शरण लिइरहेकी छिन्। 

उनका लागि यो सहर नयाँ र बिरानो छ। तर बिरामी श्रीमान्, तीन सन्तान र विस्थापित जीवनको जिम्मेवारीले उनलाई यी नौला गल्लीहरूमा काम खोज्न बाध्य बनाएको छ।

गुम्बा मुख्य सडकबाट निकै भित्र छ, बाहिर निस्कनै हम्मे पर्छ। तैपनि केही दिनअघि उनी कामको खोजीमा बालाजुसम्म पुगिन्। स्याफ्रुबेँसीमा छँदा बैंकमा सरसफाइ गरेको अनुभव उनीसँग थियो, त्यसैको भरमा आसपासका बैंकहरू चाहारिन्, तर कसैले काम दिएनन्; उनी रित्तो हात फर्किइन्।

त्यसयता गुम्बामा राहत लिएर आउनेहरूसँग उनी हात फैलाउनुभन्दा ‘बरु कुनै काम दिनुस्’ भन्न थालेकी छिन्। विभिन्न सङ्घसंस्थाले दिएको राहतले गाँस र बास त जेनतेन चलेको छ, तर सन्तानले मागेका कुरा पूरा गर्न र औषधिमुलोको खर्च जुटाउन उनलाई काम चाहिएको छ।

सम्झन मन नलाग्ने दिन!
भदौ १० गतेको त्यो दिन छोक्पा सम्झन पनि चाहन्नन्।

त्यतिबेला उनी स्याफ्रुबेँसीस्थित एनआईसी एसिया बैंकको शाखामा सरसफाइको काम गर्थिन्। त्यस दिन आफ्नो काम सकेर नजिकैको पसलसम्म पुगेकी मात्र के थिइन्, बैंकका कर्मचारीहरू हतार-हतार भागिरहेको देखिन्।

उनी पनि आफ्नो झोला च्यापेर बाहिर दौडिइन्। केही पर पुगेर पछाडि फर्किँदा भोटेकोशीको लेदोसहित उर्लिएको भेलमा क्षणभरमै बैंक हराइसकेको थियो। आँखाकै अगाडि छिमेकका घरहरू र मानिसहरू लेदोमा बिलाएर गए।

“मैले जीवनमा कहिल्यै त्यस्तो दृश्य देखेकी थिइनँ,” उनी त्यो क्षण सम्झिन्छिन्, “छोरीको घर र बैंकहरू सबै आँखा अगाडिबाट हराए। दौडेर भाग्न सकेकाहरू मात्रै बाँचेका रहेछौं।”

दौडिँदै ज्यान जोगाएर डाँडामाथिको घरतिर पुग्दा त्यहाँ मानिसहरूको रुवाबासी थियो। कोही अचेत अवस्थामा थिए, कोही चिच्याइरहेका थिए त कोही हस्याङफस्याङ गर्दै सुरक्षित ठाउँको खोजीमा उक्लिँदै थिए। त्यो दृश्यले आफैँ काँपिरहेकी छोक्पा जब घरभित्र पसिन्, उनी झन् त्रसित भइन्। घरमा न श्रीमान् थिए, न त कान्छो छोरो। केहीबेरपछि साइली बुहारीले छोरालाई घरभन्दा माथिको विद्यालयमा पुर्याएको थाहा पाइन्।

तर, बस्तीको तल्लो भेगलाई बाढीले पूरै बगाइसकेको थियो। बगरमा शवहरू भेटिन थालेको खबर बस्तीसम्म पुग्न थाल्यो। बाढीले छोक्पाको परिवारलाई पनि ठूलो बज्रपात पर्यो। उनका जेठाजु, जेठानी, छोरी र ज्वाइँसहित पाँच जना सदस्यलाई बाढीले बेपत्ता बनायो; उनीहरूको अझैसम्म कुनै अत्तोपत्तो छैन।

केही समयपछि बल्ल श्रीमान्सँग उनको भेट भयो। बजारकै बैंकमा काम गर्ने भएकाले उनलाई पनि बाढीले बगायो कि भन्ने आशंका गाउँभर फैलिसकेको थियो। वृद्ध आमाले समेत आफन्तहरूलाई फोन गर्न लगाएको उनी सम्झिन्छन्। त्यतिबेला आमासँग छोटो कुराकानी त भयो, तर त्यसयता भने सम्पर्क हुन सकेको छैन। भागदौडको क्रममा मोबाइल हराएपछि उनलाई आफन्तहरूसँग सम्पर्क गर्न अप्ठ्यारो भइरहेको छ। 

अनिश्चितताको संकट
छोक्पाको परिवार गाउँमा छँदा पनि आर्थिक अभावसँगै जुधिरहेको थियो। उनी आफैँ लामो समय कुवेतमा घरेलु श्रमिकका रूपमा पसिना बगाएर फर्किएकी हुन्। दुई सन्तानलाई जसोतसो १२ कक्षासम्म पढाएकी उनी कोरोना महामारीका बेला मात्रै नेपाल फर्किएकी थिइन्।

त्यसपछि उनी फेरि आमा बनिन्। उनका जेठा दुई सन्तान अहिले २५/२६ वर्षका भइसके। जेठो छोरा गाउँकै ठूलोबुबासँग टिपर चलाउन सिक्दै थिए। बाढी आएको बेलामा उनी कामकै सिलसिलामा चीनतर्फ गएका थिए। कोरोला नाका पार गरिसकेका कारण छोरा बाढीबाट जोगिएका रहेछन्, तर लामो समय सम्पर्क हुन नसक्दा छोक्पाको मनमा चिसो पसिरह्यो।

दुई हप्ता अघि मात्र आफन्तको सम्पर्कमा आएका उनका छोरा काठमाडौं आइपुगेका छन्। अहिले तीनै छोरा ‘घेवा’का लागि गाउँ पुगिरहेका छन्। उता छोरी वैदेशिक रोजगारीका क्रममा दुबईमा छिन्। घर खर्चको मुख्य सहारा बनेकी छोरी पनि युद्धको प्रभावका कारण बेरोजगार भएको खबर बाढी आउनुभन्दा केही समयअघि मात्र छोक्पाले पाएकी थिइन्।

अहिले छोरी नेपाल फर्किन चाहन्छिन्, तर यहाँको यस्तो अवस्थाका कारण उनी उतै अर्को काम खोज्ने प्रयासमा छिन्। “सानो भाइलाई राम्रोसँग पढाउने भनेर उसले गाउँकै बोर्डिङ स्कुलमा भर्ना गरिदिएकी थिई। तर यता आएपछि सरकारी स्कुलमा पढिरहेको छ। अलिअलि जानेको कुरा पनि अब बिर्सिसक्यो,” छोक्पा भन्छिन्।

छोरीकै कमाइको भर थियो, उसको पनि काम खोसियो। यता आफू पनि विस्थापित र बेरोजगार भएर बस्नुपर्दा उनको मन भतभती पोल्छ। छोरो विद्यालय गएपछि उनी दिनभर गुम्बामा निदाउने प्रयास गरेर समय कटाउँछिन्। तर, सधैँ काम गरिरहेको ज्यान त्यसै कहाँ निदाउन मान्थ्यो र!

“काठमाडौं आएर बस्ने हाम्रो कुनै रहर थिएन, तर अब गाउँको त्यो रित्तो घरमा कसरी फर्किनु?” उनी निराशा पोख्छिन्। उनका श्रीमान् मधुमेहका पुराना बिरामी हुन्, उनी पनि आम्दानीको काममा लागेका छैनन्।

बाटो खोलाले लग्यो, कसरी जाने?
स्याफ्रुबेँसीबाट स्थानीयको हेलिकप्टरमार्फत उद्धार हुन थालेपछि गाउँ रित्तिँदै गयो। डाँडामा बाँचेकाहरू पनि बिस्तारै तल झर्दैछन्। सँगै काम गरेका साथी, एउटै चुल्होमा खाना खाने परिवार, काखमा हुर्किँदै गरेका बालबालिका र माया दिने अभिभावकहरू बाढीको भेलसँगै बिलाए।

गाउँलेहरू हेलिकप्टर चढेर गएको देखेपछि छोक्पाका कान्छा छोराले पनि उनको कानमा खुसुखुसु गर्दै भनेका थिए, “हामी पनि हेलिकप्टर चढेर काठमाडौं जाऔँ न!” सन्तानको राम्रो जीवनशैली र शिक्षाका लागि शहर पस्ने निर्णय लिन छोक्पालाई चार दिन लाग्यो। त्यतिबेलासम्म काठमाडौंको गुम्बामा आफ्नै गाउँका अधिकांश विस्थापितले आश्रय लिइसकेका छन् भन्ने उनलाई थाहै थिएन।

अन्ततः ‘जे पर्ला-पर्ला’ भन्दै उनी कान्छो छोरो च्यापेर काठमाडौं आइन्। यहाँ आएपछि गाउँलेहरू गुम्बामा बसेको थाहा पाएपछि उनी पनि त्यहीँ बस्न थालिन्। पछि सबैको सल्लाहमा गाउँमै रहेका बिरामी श्रीमान्लाई पनि काठमाडौं नै बोलाइन्। अहिले दुबईमा रहेकी छोरीबाहेक परिवारका चार सदस्य यही गुम्बामा आश्रित छन्।

गुम्बाको एउटा साँघुरो खाटमा छोक्पा र उनका कान्छा छोरा रात काट्छन्। अचेल काठमाडौं महानगरपालिकाले समन्वय गरिदिएको नजिकैको विद्यालयमा छोरा पढ्न जान थालेका छन्। यो बिरानो शहर छोडेर बेलाबेलामा उनलाई आफ्नै थातथलो फर्कौं जस्तो पनि लाग्छ। छोराले चकचक गर्दा छोक्पा कहिलेकाहीँ भन्छिन्, “धेरै चकचक गर्यौ भने फेरि गाउँ जाने है!”

तर, छोराको जवाफले आमाको मन चसक्क बनाउँछ। उनले भन्छन्, “हाम्रो गाउँ जाने बाटो त खोलाले लग्यो, अब कसरी जाने?” छोराको त्यही प्रश्नले छोक्पालाई काठमाडौंमै सङ्घर्ष गर्ने अठोट पनि दिन्छ। 

उनी काम खोजेर छोरालाई यहीँ राम्रोसँग पढाउन चाहन्छिन्। सानै भए पनि एउटा डेरा लिएर परिवारसँगै बस्ने उनको चाहना छ। तर, नौलो शहरमा न काम पाउन सजिलो छ, न त डेरा खोज्न नै। गुम्बाको खाना खाइसकेपछि उनी दिनभर काम र छोराको भविष्यकै चिन्तामा घोत्लिइरहन्छिन्।

उता दुबईमा कामविहीन बनेकी छोरी यदि नेपाल फर्किहालिन् भने उनलाई कहाँ राख्ने र कसरी सम्हाल्ने भन्ने अर्को पिरलोले पनि छोक्पालाई उत्तिकै सताइरहेको छ।

रोजगारीको खोजी र आशाको किरण
गुम्बाकोआश्रयस्थलमा दिनहुँ जसो ‘घेवा’ भइरहेको हुन्छ। यसले गुम्बाको वातावरण शोकाकुल हुने गर्छ। आफन्त सम्झेर सबै जना डाँको छोडेर रुन खोज्छन्, तर यहाँ सबैको पीडा उस्तै छ। यहाँ उनीहरू एकअर्काको मनोबल बनिरहेका छन्।

तर, छोक्पालाई गुम्बाको एक कुनामा टोलाएर मात्रै दिन कटाउनु छैन। उनी आफ्नै हातपाखुरा चलाउन चाहन्छिन्। कमाइ थोरै नै किन नहोस्, आफ्नै पसिनाको कमाइमा जीवन धान्ने उनको सोचाइ छ।

“मैले एनआईसी एसिया बैंकका सरहरूलाई 'मलाई अरू केही चाहिँदैन, काम मात्र दिनुस्' भनेकी छु,” उनी भन्छिन्, “सुरुमा फोन गर्नुभएको थियो, अचेल गर्नुभएको छैन। मलाई त बैंकको हेड अफिस कहाँ छ भन्ने पनि थाहा छैन। नत्र म त्यहीँ पुगेर पनि काम माग्थेँ।”

छोक्पाले अक्षर चिनेकी छैनन्, तर आफू र आफ्ना सन्तानलाई यो विरक्तलाग्दो अवस्थाबाट बाहिर निकाल्न चाहन्छिन्। त्यसैले उनी गुम्बाभित्र आफ्नो भविष्यलाई गुम्साएर राख्न चाहन्नन्; कामको खोजीमा शहरका गल्लीहरू नाप्न उनी अझै तयार छिन्।

असोज १६, २०८३ शुक्रबार १९:५८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।