स्थानीय निर्वाचनका लागि रास्वपाको कडा मापदण्ड : उम्मेदवार बन्न 'क्यान्डिडेट क्लब' र 'एकेडेमी' अनिवार्य

स्थानीय निर्वाचनका लागि रास्वपाको कडा मापदण्ड : उम्मेदवार बन्न 'क्यान्डिडेट क्लब' र 'एकेडेमी' अनिवार्य

काठमाडौं : आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'क्यान्डिडेट क्लब' र 'लिडरसिप एकेडेमी' को प्रक्रिया पूरा गरी उत्तीर्ण हुनुपर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले रास्वपाको तर्फबाट उम्मेदवार बन्न चाहने आकांक्षीहरूले अनिवार्य रूपमा 'क्यान्डिडेट क्लब' र 'लिडरसिप एकेडेमी' को प्रक्रिया पुरा गर्नु पर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार सम्भावित उम्मेदवारहरूको योग्यता र नेतृत्व क्षमता परीक्षण गर्न यो विधि अपनाइएको हो। आकांक्षीहरूको संख्या धेरै हुने देखिएपछि रास्वपाले उम्मेदवार छनोटमा सहजताका लागि 'क्यान्डिडेट क्लब' अवधारणा ल्याएको हो।

हालै सम्पन्न संसदीय दलको बैठकले 'स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति' समेत गठन गरेको छ।

पार्टीका सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगानालाई सचिवको जिम्मेवारी दिइएको छ। यसमा समीक्षा बास्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लीश्वर कार्कीलाई सदस्य बनाइएको छ।

वैशाख २०, २०८३ आइतबार १६:४१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।