१५ वर्षे वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रम्दै अरुणा

१५ वर्षे वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रम्दै अरुणा

रामेछाप : रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेकी छन्।

चार वर्ष बेलायत तथा ११ वर्ष दुबई र कतार गरी १५ वर्ष विदेशमा पसिना बगाएकी अरुणाले अरूको देशमा काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्ने सोचका साथ बाख्रापालन व्यवसाय थालेकी हुन्।   

“अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ”, केसीले भनिन्।

बाख्रापालनका लागि अहिले उनले गाउँमा करिब २० लाख खर्च गरेर आधुनिक खोर निर्माण गरकी छन्। बाख्रापालनमात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाइन। 

विसं २०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताइन्। उनले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहेको बताइन्।

उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन्। उनले भने “मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ।”

गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ। तर पनि उनी निरन्तर बाख्रापालनमा खटिरहेकी छन्।

“सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ”, केसीले भनिन्। 

वैशाख २०, २०८३ आइतबार १२:२४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।