तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध
चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार बिहान पहिरो खस्दा यातायात प्रभावित भएको छ। बिहान ५:४५ बजे ढुङ्गा र माटो सहितको पहिरो खसेपछि अहिले सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, पहिरो पन्छाएर सडकलाई पूर्ण रूपमा खुलाउन डिभिजन सडक कार्यालय भरतपुरसँग डोजर मगाइएको छ।
मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने यहाँ पहिरो खसेपछि सवारी साधनको चाप बढ्न थालेको छ। पहिरो हटाउने काम सुरु भएपछि छिट्टै दुवै तर्फी यातायात सुचारु हुने प्रहरीले जनाएको छ।
वैशाख २०, २०८३ आइतबार ०९:३६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।