भ्रामक सूचना र एल्गोरिदमको चुनौती चिर्दै सत्य तथ्य सम्प्रेषणमा जोड

भ्रामक सूचना र एल्गोरिदमको चुनौती चिर्दै सत्य तथ्य सम्प्रेषणमा जोड

काठमाडौं : स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र जारी भएको दिनको सम्झनामा आइतबार नेपालसहित विश्वभर ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदैछ। सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरेसँगै हरेक वर्ष यो दिन प्रेस स्वतन्त्रताको विषयमा बहस हुने गर्छ।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश जारी गरेका छन्। राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको आधारस्तम्भ उल्लेख गर्दै पत्रकारिताको व्यावसायिकता र सुरक्षामा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आम नागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिए। उनले भनेका छन्, “स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ।”

लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसले खेलेको महत्त्वपूर्ण भूमिकाबारेमा पनि उनले चर्चा गरेका छन्। प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने र प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जाने उनको भनाइ छ।

उनले बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउन सक्ने चुनौतीको सामना गरी सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाहको आवश्यकता औँल्याएका छन्। 

त्यस्तै उपराष्ट्रपति यादवले पनि प्रेस स्वतन्त्रतालाई नागरिकको सत्य जान्न पाउने साझा अधिकारका रूपमा व्याख्या गरेका छन्। उनले पछिल्लो समय सामाजिक सञ्जालको 'एल्गोरिदम'ले सत्य समाचारलाई छायामा पार्न सक्ने र भ्रामक सामग्रीलाई अगाडि ल्याउन सक्ने चुनौती थपिएको उल्लेख गरे।

यादवले भनेका छन्, “पछिल्लो समय सञ्चारमाध्यम केवल मुद्रित वा प्रसारणमा सीमित छैन, सामाजिक सञ्जालले समाचारको पहुँचलाई तीव्र बनाएको छ, तर ‘एल्गोरिदम’को प्रभावले सत्य समाचारलाई कहिलेकाहीँ छायाँमा पार्छ, भ्रामक सामग्रीलाई अगाडि ल्याउन सक्छ, यसले पत्रकारिता र नागरिक दुवै समक्ष सत्यलाई पहिचान गर्ने, विवेकपूर्ण छनोट गर्ने र जिम्मेवार सञ्चारलाई प्रोत्साहन गर्नेजस्ता चुनौती थपिदिएको छ।”

आर्थिक दबाब र राजनीतिक हस्तक्षेपका बाबजुद नेपाली पत्रकारहरूले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्न देखाएको साहसको उनले प्रशंसा गरेका छन्। सन्देशमा भनिएको छ, “आर्थिक दबाब, राजनीतिक हस्तक्षेप र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले प्रेससामु थप परिमार्जित, व्यवस्थित र संयमित भई प्रस्तुत हुनुपर्ने चुनौती छ।”

वैशाख २०, २०८३ आइतबार ०७:५४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।