पार्टी महाधिवेशन र २०८३ को निर्वाचनतर्फ केन्द्रित हुँदै रास्वपा, आज बस्दैछ सचिवालय बैठक
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्दैछ। पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठक दिउँसो साढे १२ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि मुख्य चार वटा कार्यसूची तय गरिएका छन्। बैठकमा विशेषगरी ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’का विषयमा छलफल हुनेछ। उम्मेदवार छनोटको प्रारम्भिक खाका तयार पार्न पार्टीले सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल गठन गरेको थियो।
बैठकमा ‘महाधिवेशन कार्यविधि २०८३’बारे पनि छलफल हुने छ। वैशाख १५ गतेदेखि जिल्ला अधिवेशनहरू सुरु गर्ने निर्णय गरिसकेकोले महाधिवेशनको विधि र प्रक्रियालाई अन्तिम रूप दिने तयारी रहेको छ।
यसैगरी, संसदीय दलको विधान संशोधनका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ। संसदीय गतिविधिलाई प्रभावकारी बनाउन र विधानमा आवश्यक परिमार्जन गर्न प्रवक्ता झाको भनाई छ।
साथै सांगठनिक सुदृढीकरण र समसामयिक राजनीतिका विविध विषयहरूमा समेत बैठकमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ। रास्वपाले पछिल्लो समय आफ्नो सांगठनिक संरचना विस्तार र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर छलफल तीव्र पारेको छ।
वैशाख २०, २०८३ आइतबार ०७:२०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।