राष्ट्रपति पौडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपति पौडेलले जारी गरे थप तीन अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेका थप तीन वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शनिबार ती अध्यादेशहरू जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरिएको छ। 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले यी अध्यादेशहरू प्रमाणीकरण गरेका हुन्। 

यसअघि राष्ट्रपतिले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ गरेका थिए। त्यस्तै, बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका थिए।

वैशाख १९, २०८३ शनिबार १६:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।