इरान-इजरायल द्वन्द्वले साउदी अरबमा मदिरा अभाव
एजेन्सी : मध्यपूर्वमा जारी तनावपूर्ण परिस्थितिका कारण साउदी अरबमा मदिराको आपूर्ति प्रभावित भएको छ।
इरान र इजरायलबीचको द्वन्द्वका कारण आपूर्ति शृंखलामा ढिलाइ हुँदा साउदी अरबमा मदिराको अभाव देखिएको हो।
रोयटर्स समाचार एजेन्सीका अनुसार, राजधानी रियादको ‘डिप्लोम्याटिक क्वार्टर’मा रहेको साउदी अरबको एक मात्र आधिकारिक मदिरा पसलमा पछिल्लो समय खाली देखिन थालेका छन्।
त्यहाँ पुग्ने ग्राहकहरूले लोकप्रिय ब्राण्डहरू पाउन छाडेको र हाल महँगा वा कम चल्तीका ब्राण्डहरू मात्र उपलब्ध रहेको बताएका छन्।
नाम वा बोर्ड नराखिएको उक्त मदिरा पसल सन् २०२४ मा सञ्चालनमा आएको थियो।
सुरुमा गैर-मुस्लिम कूटनीतिज्ञहरूलाई सेवा दिने उद्देश्यले खोलिएको यो पसल पछि गएर धनी गैर-मुस्लिम विदेशी नागरिकहरूका लागि समेत खुला गरिएको थियो।
साउदी अरबमा सन् १९५२ देखि नै मदिरामाथि पूर्ण प्रतिबन्ध छ।
तर, हालैका वर्षहरूमा साउदी सरकारले विदेशी कामदारहरूलाई आकर्षित गर्ने नीतिअनुसार सीमित संख्यामा विदेशीहरूका लागि लाइसेन्स प्राप्त मदिरा पसल खोल्न अनुमति दिएको छ।
बीबीसी फारसीका अनुसार, हाल जारी द्वन्द्वका कारण बन्दरगाह र ढुवानी मार्गहरू प्रभावित हुँदा मदिराको आपूर्तिमा समस्या आएको हो।
साउदी अरबको यो कदम ‘भिजन २०३०’ अन्तर्गत पर्यटन र विदेशी लगानी बढाउने सरकारको प्रयासको एक हिस्सा मानिन्छ।
वैशाख १९, २०८३ शनिबार १२:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।