रोल्पा जीप दुर्घटनाको तेस्रो दिनमा रास्वपाको विज्ञप्ति
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङमा भएको जीप दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै सडक सुरक्षाका विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
घटनाको तेस्रो दिन विज्ञप्ति जारी गर्दै रास्वपाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली दिएको छ।
रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुकुम पूर्वबाट रोल्पाको थवाङ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। एकैपटक यति धेरै मानवीय क्षति भएको पीडादायी घटनाले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ।’
रास्वपाले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टीले दुःखद घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको भन्दै यस्ता घटनाहरू केवल तथ्याङ्क नभएर नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सवारी दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।’
नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर राज्यले प्रभावकारी र जिम्मेवार कदम चाल्नुपर्नेमा पार्टी स्पष्ट रहेको रास्वपाले जनाएको छ।
गत वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका-१ को भिरालो क्षेत्रमा लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा परेको थियो। करिब ७००–८०० मिटर गहिरो भिरमा खसेको उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएको थियो।
विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सुरक्षा निकाय तथा उद्धारमा खटिएका टोलीले देखाएको साहस र समर्पणप्रति रास्वपाले उच्च सम्मान व्यक्त गरेको छ।
वैशाख १९, २०८३ शनिबार ११:१८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।