सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ बर्षिया बालिकाको मृत्यु, बुबा घाइते

सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ बर्षिया बालिकाको मृत्यु, बुबा घाइते

सर्लाही : सर्लाहीको लाल बन्दी नगरपालिका–४ हरिवनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन्। 

शुक्रबार दिउँसो हरिपुरबाट लाल बन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा साइकलको पछाडि सवार लाल बन्दी नगरपालिका–९ निवासी करिब ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको छ। साइकल चालक उनका बुबा करिब ४० वर्षीय सन्तोष भट्टराई घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको छ।

उनको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालक लाल बन्दी नगरपालिका–१७ निवासी करिब ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लाल बन्दीमा राखेको जनाएको छ।

बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

वैशाख १९, २०८३ शनिबार १०:३०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।