देशका विभिन्न स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात हुने

देशका विभिन्न स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात हुने

काठमाडौं :  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने अनुमान गरिएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मौसम साधारणतया बदली (बादल लाग्ने) रहनेछ। सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने आंशिक मात्र बदली हुनेछ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा मौसम बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ।

साथै, देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा राति पनि हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जनाएको छ।

वैशाख १९, २०८३ शनिबार ०६:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।