जेनजी आन्दोलनको जगमा बनेको सरकारको 'डोजर' राजनीति : बागमतीमा वृद्धको शव भेटियो, उठिबास हुने चिन्ताले युवकले गरे आत्महत्या
काठमाडौं : एकातिर सरकारले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने अभियान तीव्र पारेको छ भने अर्कातिर वर्षौँदेखि बस्दै आएका सुकुम्बासीहरू विकल्पविहीन हुँदा यस्ता कारुणिक र दुखद घटनाहरू सार्वजनिक हुन थालेका छन्। एकाएक घर टहरा भत्काइँदा सुकुम्बासी परिवारहरू बिचल्लीमा परेका छन्।
जेनजी आन्दोलनमा ४५ जनाको ज्यान गएको भन्दै तत्कालीन सत्ताधारी दल एमाले र नेपाली कांग्रेसको कटु आलोचना गरेर १८२ सिटसहित सत्तारोहण गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले विकल्प नदिई सुकुमबासी बस्तीमा डोजर चलाउँदा हजारौँ परिवार घरबारहीन भइसकेका छन् भने दुई जनाको ज्यान गइसकेको छ।
सरकारले निकै छोटो समय दिएर एकाएक बस्तीमा सेनाको ब्याकअप र प्रहरीको सुरक्षा घेरामा बस्तीहरूमा डोजर चलाउँदा २ जनाको ज्यान गएको हो। एक जना १९ वर्षीय युवाको शव सुकुमबासी बस्तीमा रहेको आफ्नो छाप्रोको शौचालयमा आत्महत्या गरेको अवस्थामा भेटिएको थियो। शुक्रवार उस्तै शैलीमा बल्खुको सुकुमबासी बस्तीमा डोजर चलाउन जाँदा एक ६१ वर्षका वृद्धको शव खोलामा फेला पर्यो।
पहिलो युवाको मृत्युको कारण आत्महत्या भएको पुष्टि भइसकेको छ। दोस्रो वृद्धको मृत्युको कारण भने खुलेको छैन। प्रहरीले शव फेला परेको पुष्टि गरे पनि कारण खुलाएको छैन।
बर्बराउँदै हिँडेका इन्द्रको शव खोलामा
बल्खुस्थित सुकुम्बासी बस्तीमा घर टहरा भत्काइएकै दिन शुक्रवार सोही बस्तीका ६१ वर्षीय इन्द्रबहादुर राई बागमती नदीमा मृत फेला परेका थिए। खोटाङ स्थायी घर भई बल्खुस्थित वडा नम्बर १४ को सुकुम्बासी बस्तीमा परिवारसँग बस्दै आएका राई शुक्रवार बिहान आफ्नै घर भत्काएको हेर्न नसक्ने भन्दै निस्किएको परिवारका सदस्यहरूले बताएका छन्।
बिहानै बरबराउँदै घरबाट निस्किएका उनको शव दिउस बागमती खोलामा फेला परेको थियो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले "अहिले शव फेला परेको छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ" उकेरालाई बताए।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधवार सूचना जारी गरी बस्ती खाली गर्न भनेपछि शुक्रवार बिहानैदेखि सुरक्षा घेराबीच बल्खु र टेकुको वंशीघाट क्षेत्रमा डोजर चलाइएको थियो।
उठिबास हुने चिन्ताले १९ वर्षीय युवकद्वारा आत्महत्या
सुकुम्बासी बस्ती खाली गराउने सरकारी निर्णयको चपेटामा परेर अर्का एक १९ वर्षीय युवकले आत्महत्या गरे। मनोहरा सुकुम्बासी बस्तीबाट निकालिएका सिन्धुपाल्चोक, बाह्रबीसेका रविन तामाङले वैशाख १० गते आत्महत्या गरेका हुन्।
उनका बुबा हस्तबहादुर तामाङका अनुसार सरकारले बस्ती खाली गर्न दुई दिनको म्याद दिएपछि रविन मानसिक रूपमा निकै विचलित भएका थिए। हस्तबहादुरका अनुसार गाउँमा केही नभएको र यहाँ पनि डोजर चलेपछि कसरी बाँच्ने भनेर उनी चिन्तित थिए।
प्रहरी वृत्त थिमीका अनुसार रविनको शव घरको शौचालयमा फेला परेको थियो। प्रहरीका अनुसार घटनास्थलमा कुनै 'सुसाइड नोट' फेला परेको छैन।
सरकारले सुकुमबासी बस्तीमा गैर सुकुमबासी समेत रहेको भन्दै निकै छोटो समय दिएर सुकुमबासी बस्तीहरूमा डोजर चलाएको थियो। काठमाडौंको थापाथलीबाट सुरु भएको बस्ती हटाउने अभियान मनोहराहुँदै टेकु पुगेको छ।
स्थानीय तहहरूले आ-आफ्ना क्षेत्रमा रहेको सुकुमबासी बस्तीहरू खाली गर्न उर्दी जारी गरिसकेको छ। सोही अनुसार काठमाडौंको बुढानीलकण्ठ, कपन लगायतका क्षेत्रमा रहेका बस्तीहरू छाडेर हिँड्नेहरूको संख्या बढिरहेको छ।
सरकारले बस्ने ठाउँ नभएकाहरूका लागि गेस्ट हाउस र होल्डिङ सेन्टरमा राख्ने बताए पनि व्यवस्थित गर्न सकेको छैन। हरेक दिन घर टहरा हटाउँदा घरबारहीन भएकाहरूको संख्या बढिरहेको छ। तर त्यो अनुसारको होल्डिङ सेन्टर र बसोबास गराउने ठाउँ भने बनाउन सकेको छैन।
वैशाख १८, २०८३ शुक्रबार २०:३९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।