बल्खुमा सुकुम्बासी बस्ती भत्काइएकै दिन सोही बस्तीका इन्द्रबहादुर मृत फेला

बल्खुमा सुकुम्बासी बस्ती भत्काइएकै दिन सोही बस्तीका इन्द्रबहादुर मृत फेला

काठमाडौं : बल्खुस्थित सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएकै दिन सोही बस्तीका एक पुरुष मृत फेला परेका छन्। बल्खु क्षेत्रमा घरटहरा भत्काइएको सुकुम्बासी बस्तीका ६१ वर्षीय इन्द्रबहादुर राई शुक्रबार बागमती नदीमा मृत भेटिएका हुन्।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले दुई-तीन दिनदेखि उनी घरमा नआएकाले परिवारले उनको खोजी गरिरहेको जानकारी पाएको बताए।

“एउटा पुरुष व्यक्तिको शव फेला परेको छ। इन्द्रबहादुर राई रहिछन्। खोटाङ हो, उहाँको घर। अनि उहाँ चाहिँ सुकुम्बासी बस्ती, वडा नम्बर १४ को परिवारसँग बस्दै आउनुभएको रहेछ," भट्टराईले भने, "छोरीहरूका अनुसार उहाँ केही समयदेखि घरमा नआएर बाहिर नै बस्ने गर्नुहुँदो रहेछ। दुई-तीन दिनदेखि चाहिँ नदेखिएको भन्ने छ। अरू बुझ्दै छौं। उहाँको उमेर ६०-६१ वर्षको हुनुहुन्छ।”

प्रहरीले उक्त घटनाबारे थप जानकारी लिने काम भइरहेको जनाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरी बस्ती खाली गर्न भनेको थियो। सोही बमोजिम शुक्रबार बिहानैदेखि बाक्लो सुरक्षा घेराबीच बल्खु, टेकुस्थित वंशीघाट लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीमा डोजर चलाइएको छ। 

वैशाख १८, २०८३ शुक्रबार १६:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।