विदेशबाट पैसा पठाउनेलाई सामसङको उपहार
काठमाडौं : सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित गरेर ‘रेमिटमा बेनिफिट’ अभियानको सञ्चालन गर्ने भएको छ। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई जीवनस्तर सुधारको अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ‘रेमिटमा बेनिफिट’ अभियान ल्याइएको कम्पनीले जनाएको छ।
‘सपनादेखि सम्भावनासम्म’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको अभियानअन्तर्गत रेमिट्यान्समा आधारित परिवारलाई प्रिमियम प्रविधिमा सहज पहुँच पुऱ्याउन विभिन्न सुविधाहरू उपलब्ध गराइएको छ।
जसअनुसार ग्राहकले सामसङका स्मार्टफोन, टेलिभिजन, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा अधिकतम ६ प्रतिशतसम्म नगद फिर्ता (क्यासब्याक) प्राप्त गर्नेछन्। यसका साथै एनसेल रिचार्जमा अधिकतम १८० जीबीसम्मको बोनस डेटा र २४ महिनासम्मको किस्ताबन्दी सुविधा समेत प्रदान गरिएको छ।
अभियानलाई थप प्रभावकारी बनाउन सामसङले आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार लिमिटेडसँग रणनीतिक साझेदारी गरेको छ। साझेदारीमार्फत देशभरका ग्राहकका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई अझ सुदृढ बनाउन एकीकृत प्रणाली निर्माण गरिएको छ।
अभियान सुरुवात गर्दै सामसङ नेपालका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले रेमिट्यान्सलाई आर्थिक मूल्य मात्र नभई श्रमिकको त्याग र आकांक्षाको प्रतीकका रूपमा बुझ्नुपर्ने बताए। उनले कठिन परिश्रमले कमाएको पैसालाई अर्थपूर्ण प्रगतिमा रूपान्तरण गर्न यस अभियानले सहयोग गर्ने विश्वास व्यक्त गरे।
अफर उपयोग गर्नका लागि अनिवार्य रूपमा आईएमई रेमिटमार्फत रेमिट्यान्स प्राप्त गरेको हुनुपर्नेछ। रेमिट्यान्स प्राप्त गरेपछि प्राप्त हुने कन्ट्रोल नम्बरसहित सामसङ स्टोरमा गएर इच्छुक डिभाइस छनोट गर्न सकिने व्यवस्था मिलाइएको छ। ग्राहकले एचएफएलमार्फत ऋण प्रक्रिया अगाडि बढाउन सक्नेछन् भने स्मार्टफोन खरिदमा एनसेलको बोनस र खल्तीमार्फत योग्य क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
वैशाख १८, २०८३ शुक्रबार १५:५५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।