पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्यास र हवाइ इन्धन भने महँगियो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य वृद्धि गरेको छ।
निगमले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको छ।
यो समायोजनसँगै पेट्रोलको मूल्य २१७ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँमा झरेको छ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्यमा भने वृद्धि गरेको छ। खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि गरिएपछि अब उपभोक्ताले एउटा सिलिन्डरको २ हजार १६० रुपैयाँ तिर्नुपर्नेछ। आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ।
त्यसैगरी, आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरी २६९ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र पश्चिम एसियामा जारी युद्धका कारण मूल्य समायोजन चुनौतीपूर्ण बनेको उल्लेख गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यका आधारमा यो हेरफेर गरिएको निगमको जनाएको छ।
मूल्य समायोजनले पनि निगमले अझै पनि पाक्षिक रूपमा करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा बेहोरिरहेको बताएको छ।
वैशाख १८, २०८३ शुक्रबार ०७:४५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।