संसद् छलेर ल्याइएका ६ अध्यादेशमध्ये २ मात्रै जारी
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि आजै राष्ट्रपति पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ समेत जारी गरिसकेका छन्। सरकारले स्वीकृतिका लागि सिफारिस गरेका कुल ६ वटा अध्यादेशमध्ये हालसम्म दुई वटा मात्र जारी भएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार संवैधानिक परिषद्, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेशहरूमाथि कानुनी र संवैधानिक परामर्श जारी छ।
सरकारले आह्वान गरेको संसद् अधिवेशन स्थगन गरे लगत्तै एकै पटक ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। संसद् छलेर अध्यादेश ल्याइएपछि विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेका बेला राष्ट्रपति पौडेलले ती अध्यादेशहरूको संवैधानिक र कानुनी पक्षबारे संविधानविद्हरूसँग परामर्श गरेका छन्।
वैशाख १७, २०८३ बिहीबार २१:१८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।