राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेश ल्याइएपछि त्रिविका पदाधिकारीले दिए राजीनामा
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले पदबाट सामूहिक राजीनामा दिएका छन्। उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष (रेक्टर) प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले बिहीबार कुलपति एवं प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पठाएका हुन्।
सरकारले विगतका सरकारहरूले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले राजीनामा दिने निर्णय लिएका हुन्। रेक्टर प्रा. केसीले सरकारलाई काम गर्न सहज होस भनेर आफूहरूले मार्ग प्रशस्त गरेको बताए।
राजीनामा दिएका पदाधिकारीमध्ये उपकुलपति प्रा.डा. अर्याललाई २०८२ असार २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए। उनी तत्कालीन उपकुलपति प्रा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पदमा नियुक्त भएका थिए।
त्यसैगरी, रेक्टर प्रा. केसी र रजिस्ट्रार प्रा. रिजाललाई २०८० चैत ३० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पालामा नियुक्त गरिएको थियो। उनीहरूलाई तत्कालीन उपकुलपति बरालको सिफारिसमा नियुक्त गरिएको भएता पनि नयाँ सरकारको नीति र अध्यादेशका कारण उनीहरूले कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन्।
प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सार्वजनिक निकायमा रहेका राजनीतिक नियुक्तिहरूलाई व्यवस्थित गर्न र आवश्यकताअनुसार पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो। उक्त अध्यादेश हाल राष्ट्रपतिको कार्यालयमा अध्ययनका क्रममा छ। त्रिवि ऐनअनुसार पदाधिकारीहरूको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ।
वैशाख १७, २०८३ बिहीबार १७:५४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।