संसद् छलेर ल्याइएका ६ अध्यादेशमध्ये राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

संसद् छलेर ल्याइएका ६ अध्यादेशमध्ये राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

सरकारले स्वीकृतिका लागि सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये एक सहकारीसम्बन्धी अध्यादेश मात्र जारी गरेका छन्। बाँकी ५ वटा अध्यादेश भने हाल राष्ट्रपतिको कार्यालयमा अध्ययनकै क्रममा रहेका छन्।

राष्ट्रपतिसमक्ष सरकारले संवैधानिक परिषद्, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारी पदमुक्ति र सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी अध्यादेशहरू पेस गरेको थियो। ती अध्यादेशहरूको कानुनी र संवैधानिक पक्षबारे राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्दै छन्।

राष्ट्रपति कार्यालयका अनुसार अन्य अध्यादेशबारे अध्ययन र परामर्श जारी रहेकाले तत्काल प्रमाणीकरण नगरिएको हो। सरकारले आह्वान गरेको संसद् अधिवेशन स्थगन गरेर एकै पटक ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। संसद् छलेर अध्यादेशमार्फत ल्याएपछि यसलाई प्रमाणीकरण गर्ने वा नगर्ने भन्नेमा राष्ट्रपतिलाई नैतिक र संवैधानिक दबाब परेको हो।

वैशाख १७, २०८३ बिहीबार १७:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।