पार्टी सुदृढीकरणमा लाग्ने कोइराला समूहको निष्कर्ष

पार्टी सुदृढीकरणमा लाग्ने कोइराला समूहको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूसँग १५ औँ महाधिवेशनको तयारी र आगामी रणनीतिबारे छलफल गरेका छन्।

बिहीबार काठमाडौंको बालुवाटारस्थित ओपेरा होटलमा आयोजित भेलामा कोइरालाले पार्टीको आन्तरिक परिस्थिति र आगामी कार्यदिशाबारे सुझाव संकलन गरेका छन्। भेलामा उनी निकट पार्टीका पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति तथा पूर्व सभापतिहरू, सांसद तथा पूर्व सांसदहरू र प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको सहभागिता थियो। 

कोइरालाको सचिवालयका अनुसार भेलामा करिब १२३ जनाको उपस्थिति रहेको थियो। विशेषगरी नेताहरू डा. शशांक कोइराला र एनपी साउदको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस्तै नेताहरू बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, दीपक गिरी, सञ्जय गौतमलगायतका नेताहरू पनि छलफलमा सहभागी थिए।

छलफलका क्रममा नेता कोइरालाले पार्टीलाई विभाजन हुन नदिने र एकजुट बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे। "पार्टी फुटाउने र बिगार्नेतिर लाग्नुहुँदैन। हाम्रो प्रयत्न पार्टीलाई कसरी एकजुट बनाएर लैजाने भन्नेमै केन्द्रित हुनुपर्छ," कोइरालाले भने, "कांग्रेस बलियो भएन भने लोकतन्त्र नै संकटमा पर्न सक्छ, त्यसैले स्थानीय तहको चुनावलाई समेत मध्यनजर गर्दै पार्टी सुदृढीकरणमा लाग्नुपर्छ।" 

उनले भेलामा सहभागीहरूलाई अन्य नेताहरूको आलोचना गर्नुभन्दा रचनात्मक सुझाव दिन आग्रह गरेका थिए। सहभागी नेताहरूले १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्ने प्रक्रिया अव्यवहारिक रहेकोले त्यसमा अडान लिन नेतृत्वलाई सुझाव दिएका छन्। 

उनीहरूले अहिलेको परिस्थितिमा सदस्यता अद्यावधिक गर्नु उचित नहुने धारणा राखेका थिए। साथै, पार्टीभित्र देखिएको गुटगत तिक्तता अन्त्य गरी एकता कायम गर्ने मुख्य जिम्मेवारी सभापतिकै भएको उनीहरूको जोड थियो। भेलामा सहभागी कतिपयले कोइराला परिवारकै नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए भने केहीले नेतृत्वले स्पष्ट अडान लिनुपर्ने सुझाव दिएका थिए। 

वैशाख १७, २०८३ बिहीबार १५:०६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।