एमआरपी लागू गर्ने निर्णयको विरोध : तेल र तरकारीबाहेक वीरगञ्ज भन्सारमा जाँचपास ठप्प, राजस्व सङ्कलन प्रभावित

एमआरपी लागू गर्ने निर्णयको विरोध : तेल र तरकारीबाहेक वीरगञ्ज भन्सारमा जाँचपास ठप्प, राजस्व सङ्कलन प्रभावित

वीरगञ्ज : सरकारले भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय कार्यान्वयन लागेपछि व्यवसायीले वीरगञ्जसहित मुलुकका विभिन्न भन्सार कार्यालयमा जाँचपासमा असहयोग गरेका छन्।

व्यवसायीको असहयोगका कारण दुई दिनदेखि आयात-निर्यातका साथै राजस्व सङ्कलन गम्भीर रूपमा प्रभावित भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार आयात तथा निर्यातकर्ताले भन्सार जाँचपासका लागि फाराम भर्नेदेखि मालसामान घोषणा गर्नेसम्मका कुनै पनि प्रक्रियामा सहभागी नहुँदा जाँचपास रोकिएको हो।

सरकारले हालै भन्सार विन्दुमा आउने सबै किसिमका उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो।

यता, व्यवसायीहरूले भने सरकारको उक्त निर्णय अव्यावहारिक भएको दाबी गरेका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार विन्दुमै सबै उत्पादनमा एमआरपी तोक्ने प्रावधान व्यावहारिक नभएका कारण आफूहरू जाँचपास प्रक्रियामा सहभागी नभएको बताए।

यद्यपि, अत्यावश्यक तथा कच्चा पदार्थको आयातमा भने अवरोध छैन। पेट्रोलियम पदार्थ, सागसब्जी, फलफूल तथा औद्योगिक कच्चापदार्थको भन्सार जाँचपासमा कुनै समस्या नभएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार ती सामग्रीको जाँचपासबाट मात्रै रु ३१ करोड राजस्व सङ्कलन भएको छ।

सामान्य अवस्थामा वीरगञ्ज भन्सार कार्यालयले दैनिक रु ५० करोडदेखि ६० करोडसम्म राजस्व सङ्कलन गर्दै आएको थियो।

वैशाख १७, २०८३ बिहीबार ०७:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।