‘नक्कली भाइ’ खडा गरी मृतकको जग्गा हडप्ने मालपोत प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

‘नक्कली भाइ’ खडा गरी मृतकको जग्गा हडप्ने मालपोत प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : मृतक व्यक्तिको जग्गा हडप्न नक्कली भाइ खडा गरी फर्जी कागजात बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नं. २ (साविक मैनहिया गाविस) निवासी मृतक बेलर कहारको नाममा रहेको २ बिघा ५ धुर (२-०-५ बिघा) जग्गा नक्कली हकवाला खडा गरी नामसारी गरेको अभियोगमा अख्तियारले बुधबार आरोपपत्र दायर गरेको हो।

यसरी रचिएको थियो प्रपञ्च
अख्तियारका अनुसार मृतक बेलर कहारको जग्गाको वास्तविक हकवाला उनकी छोरी सञ्जु कहार थिइन्। तर, सञ्जुको हक मेटाउने बदनियतले प्रतिवादी बुद्धिराम कहारलाई मृतक बेलरको ‘भाइ’ भनी खडा गरिएको थियो।

बुद्धिरामलाई भाइ प्रमाणित गर्न सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष राम किशन थारु र वडा सदस्य बृजनारायण यादवले नक्कली नाता प्रमाणित, सर्जमिन मुचुल्का र सिफारिस तयार गरिदिएका थिए।

सोही फर्जी सिफारिसका आधारमा भैरहवा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा सरकारी अभिलेखमा झुटो विवरण प्रविष्ट गरी बुद्धिरामको नाममा जग्गा नामसारी र लालपुर्जा जारी गरिएको थियो। यसअघि नै रुपन्देही जिल्ला अदालतले उक्त नाता प्रमाणितलगायतका कागजातहरू फर्जी ठहर गर्दै बदर गरिसकेको छ।

को-को विरुद्ध भयो मुद्दा दायर ?
सरकारी कागजात किर्ते गरी जग्गा नामसारी गर्ने कार्यमा संलग्न मालपोत र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदावी गरेको छ।

मुद्दा भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित मालपोत अधिकृत भूमिश्वर ढकाल, तत्कालीन नायब सुब्बा राजु शर्मा, खरिदार अजित कुमार साहनी, सियारी गाउँपालिका-२ का तत्कालीन वडाध्यक्ष राम किशन थारु र तत्कालीन वडा सदस्य​​​​ ​​​बृजनारायण यादवविरुद्ध दायर भएको छ।

अख्तियारले मालपोतका कर्मचारीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ९, दफा ११ र दफा १९ को उपदफा (२) बमोजिम तथा जनप्रतिनिधिहरूलाई दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको मागदावी लिएको छ।

त्यसैगरी, नक्कली भाइ बनेर जग्गा आफ्नो नाममा गराउने मुख्य योजनाकार तथा प्रतिवादी बुद्धिराम कहारलाई पनि मतियारका रूपमा मुख्य कसुरदार सरह नै सजाय हुन मागदावी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसका अलावा गत असार ३२ गते भक्तपुरको मालपोत प्रमुख रहेका कुमार आचार्य २४ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको थियो।

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तल्सिङको लगत कट्टा गरी जग्गा मोहीका नाममा धनीपुर्जा बनाउने प्रयोजनका लागि घुस लिइसकेको अवस्थामा अख्तियारले प्रमुख आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई नियन्त्रणमा लिएको थियो।

वैशाख १६, २०८३ बुधबार २०:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।