बिहीबार बेलुकीसम्म काठमाडौंका अनधिकृत बस्ती खाली गर्न प्रशासनको उर्दी, शुक्रबार विहानैदेखि डोजर चल्ने
काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रका विभिन्न नदी किनारमा रहेका अनधिकृत तथा जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न उर्दी जारी गरेको छ।
प्रशासनले एक सूचना जारी गर्दै आगामी बिहीबार साँझसम्म सम्पूर्ण घरटहरा पूर्ण रूपमा खाली गर्न उर्दी जारी गरेको हो।
तोकिएको समयभित्र बस्ती खाली नगरे शुक्रबार बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानबाट बस्ती हटाउने कार्य सुरु गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
सरकारी, पर्ती, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वको जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसेका बस्तीहरूमा विपद्को जोखिम उच्च रहेकाले मानवीय उद्धारको हिसाबले यो कदम चालिएको प्रशासनले जनाएको छ।
प्रशासनले घरटहरा खाली गर्दा आफ्नो परिवारमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र साना बालबालिकालाई सर्वप्रथम सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।
उनीहरूको उद्धार गर्नुपर्ने अवस्था आएमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले सहयोग गर्नेछन्। आवश्यकता अनुसार अस्पतालसम्म पुर्याउन एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ।
त्यसैगरी, व्यक्तिगत मालसामान, लत्ताकपडा र पशुपन्छी (चौपाया) सुरक्षित रूपमा बाहिर निकाल्न र अन्यत्र ढुवानी गर्नुपर्ने अवस्थामा समेत सुरक्षा निकायले मद्दत गर्ने सूचनामा उल्लेख छ।
बस्ती खाली गराउने क्रममा घरबारविहीन हुने ‘वास्तविक आश्रयविहीन र भूमिहीन’ व्यक्ति तथा परिवारका लागि नेपाल सरकारले तत्काल बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
उनीहरूको पहिचान गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सम्बन्धित निकायबाट यथाशक्य छिटो काम हुने प्रशासनको भनाइ छ। सरकारले त्यस्ता परिवारका बालबालिकाको शिक्षाको प्रबन्धसमेत मिलाउनेछ।
तर, नक्कली तथा अवास्तविक भूमिहीन बनेर फाइदा लिन खोज्ने व्यक्ति र परिवारलाई भने पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइने कडा चेतावनी प्रशासनले दिएको छ।
नागरिकको जिउज्यानको रक्षा र संविधानप्रदत्त हक सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै प्रशासनले कुनै पनि गलत हल्ला, दबाब, प्रभाव वा अफवाहको पछि नलाग्न सर्वसाधारणलाई अपिल गरेको छ।
सरकारको यस अभियानमा सहयोग गर्नु नागरिकको कर्तव्य रहेको स्मरण गराउँदै प्रशासनले सूचनाको अटेर गरी बसेमा र घरटहरा भत्किँदा थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार व्यक्ति स्वयम् हुने चेतावनीसमेत दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ताद्वारा जारी सूचनामा तोकिएको समयसीमाभित्रै सुरक्षित स्थानमा सर्न विशेष आग्रह गरिएको छ।
सरकारले यसअघि काठमाडौंको थापाथली, गैरीगाउँ, शान्तिनगर, मनोहरा नदी किनारको सुकुम्बासी बस्ती खाली गराएको थियो।
वैशाख १६, २०८३ बुधबार १९:१९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।