संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न प्रतिपक्षी दलहरूको राष्ट्रपतिलाई आग्रह, संसद् अधिवेशन बोलाउन माग

संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न प्रतिपक्षी दलहरूको राष्ट्रपतिलाई आग्रह, संसद् अधिवेशन बोलाउन माग

काठमाडौं : सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका अध्यादेशहरू स्वीकृत नगर्न प्रमुख प्रतिपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलको बैठकले सरकारले पेस गरेका अध्यादेशहरू जारी नगर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको उक्त बैठकले संसद्को अधिवेशन आह्वान हुनुपर्ने समयमा उल्टै त्यसलाई छलेर अध्यादेश ल्याउनु 'असंसदीय र अलोकतान्त्रिक'  भएको ठहर गरेको छ। 

बैठकमा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सांसद सरस्वती लामा लगायतको उपस्थिति रहेको थियो। बैठकपछि जारी गरीएको संयुक्त विज्ञप्तिमा भनिएकाे छ, ‘संसद्को अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकाले हामी घोर विरोध, भर्त्सना र निन्दा गर्दछौँ।’ 

विज्ञप्तिमा सरकारले वैशाख १४ गते ‘संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६’ र ‘सहकारी ऐन, २०७४’ लाई संशोधन गर्ने दुईवटा अध्यादेश ल्याएको र वैशाख १५ गते ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’, ‘केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश’ र ‘विश्वविद्यालयसम्बन्धी अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन्।

प्रतिपक्षी दलहरूले यी अध्यादेशहरू तत्काल फिर्ता लिन र संघीय संसद्को दुवै सदनको अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग माग गरेका छन्।

वैशाख १६, २०८३ बुधबार १५:०२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।