संसदीय दलको नेताविनै रास्वपा संसदीय दलको बैठक, ‘माननीय’ सम्बोधन प्रयोग नगर्न सांसदहरूलाई निर्देशन

संसदीय दलको नेताविनै रास्वपा संसदीय दलको बैठक, ‘माननीय’ सम्बोधन प्रयोग नगर्न सांसदहरूलाई निर्देशन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि नयाँ आचारसंहिता र निर्देशनहरू जारी गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको नेताविना नै बसिरहेको संसदीय दलको अनौपचारिक भनिएको बैठकले सांसदहरूलाई माननीय सम्बोधन प्रयोग नगर्नदेखि आगामी निर्वाचनको टिकटबारे आश्वासन नदिनसम्मका निर्देशन दिएको हो।

रास्वपाले आफ्ना सबै सांसदहरूको लेटर हेड, भिजिटिङ कार्ड र अन्य आधिकारिक कागजातहरूमा एकरूपता ल्याउन निर्देशन दिएको छ।

बैठकमा संसदीय दलका नेता प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित छैनन्। पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई यस्तो निर्देशन जारी गरेका हुन्।

विशेष गरी, सांसदहरूले आफ्नो कुनै पनि कागजातमा माननीय सम्बोधन प्रयोग नगर्न पार्टीले स्पष्ट निर्देशन दिएको छ। यसलाई पार्टीको सादगी र जनतासँगको सामीप्यता दर्शाउने कदमका रूपमा हेरिएको छ।

सांसद्हरूको कार्यक्षमता र संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन धेरै कुरा सिक्न बाँकी रहेको निष्कर्ष बैठकले निकालेको छ। त्यसका लागि सबै सांसदहरूलाई विषयगत विज्ञ, मेन्टर र सल्लाहकारहरू राखेर उनीहरूबाट निरन्तर सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।

आगामी निर्वाचनका लागि उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणका लागि रास्वपाले आगामी वैशाख २० गतेदेखि ‘कन्डिडेट क्लब’को अभ्यास सुरु गर्ने भएको छ। 

यस प्रक्रियालाई पारदर्शी बनाउन पार्टीले सांसदहरूलाई कुनै पनि व्यक्तिलाई आगामी निर्वाचनको टिकटका विषयमा प्रतिबद्धता नगर्न वा आश्वासन नदिन निर्देशन दिएको छ। व्यक्तिगत पहुँचका आधारमा टिकटको कुरा गर्ने अभ्यासलाई पूर्णतः निरुत्साहित गर्न यस्तो निर्णय गरिएको बुझिएको छ।

पार्टीका यी निर्देशनहरू विपरीत कतै गलत अभ्यास भेटिएमा वा कसैले टिकटको आश्वासन दिएको पाइएमा सम्बन्धित सांसद कारबाहीको भागीदार हुनुपर्ने चेतावनी समेत बैठकले दिएको छ।

पार्टी सभापतिसहित उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थितिमा जारी यो बैठकले पार्टीको आन्तरिक अनुशासन र आगामी राजनीतिक कार्यदिशाका बारेमा थप छलफल गरिरहेको छ।

वैशाख १६, २०८३ बुधबार १२:४४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।