वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजन घोषणा, 'सिटिपे' मार्फत आवेदन दिन सकिने

वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजन घोषणा, 'सिटिपे' मार्फत आवेदन दिन सकिने

काठमाडौं : अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज 'वर्ल्ड अफ डान्स' को दोस्रो संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा भएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा जुरी, पुरस्कार र अडिसन मिति सार्वजनिक गर्दै सिटिपे मार्फत आवेदन दिन सकिने जानकारी गराइएको छ।

इच्छुक डान्सरहरूले सिटिपे एप डाउनलोड गरी 'इभेन्ट्स' सेक्सनमार्फत अडिसनका लागि आवेदन दिन र शुल्क बुझाउन सक्नेछन्। साथै, ग्राण्ड फिनालेको टिकट पनि सिटिपेबाटै किन्न सकिने व्यवस्था मिलाइएको छ।

यस सिजनको मुख्य आकर्षणका रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई 'सेलिब्रेटी ग्रान्ड जज' बनाइएको छ।

उनीसँगै निर्णायक मण्डलमा किरण थापा र जेडी तमु रहनेछन्। प्रतियोगिता चार डिभिजन (अपर, जुनियर, अपर टिम र जुनियर टिम) मा हुनेछ।

प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ, सुनको जलप लगाइएको ट्रफी र आकर्षक उपहार पाउनुका साथै दुबई, थाइल्यान्ड वा अमेरिकामा हुने प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

देशभरका प्रतिभा समेट्न ५ सहरमा अडिसन हुँदैछ। १९ वैशाखमा नेपालगन्ज, २२ गते बुटवल, २६ गते पोखरा, ३० गते काठमाडौँ र २ जेठमा इटहरीमा अडिसन हुनेछ।

सेमिफाइनल २१ जेठमा र ग्राण्ड फिनाले २३ जेठमा हुनेछ। फिनाले 'प्याराडाइम टिभी' मार्फत युट्युबमा प्रसारण हुनेछ।

सन् २००८ मा अमेरिकाबाट सुरु भएको यो प्रतियोगिता अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ। घोषणा समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ लगायतको उपस्थिति थियो।

वैशाख १६, २०८३ बुधबार ११:२६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।