सरकारलाई कांग्रेसको प्रश्न : आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ?
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताएका हुन्।
“संसद् अधिवेशन स्थगित गराएर अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम हो, सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको विषय दुःखद र गम्भीर छ,” नेता आङदेम्बेले भने।
उनले संसद् नचलेको समय मुलुकलाई तत्काल आवश्यक परेमा अध्यादेशबाट नयाँ कानुन ल्याउन सकिने भए पनि हाल त्यस्तो जरुरी नरहेको भन्दै छिटो अधिवेशनमा गएर जरुरी विधेयकहरू पारित गर्न सरकारलाई कुनै बाधा नरहेको उल्लेख गरे।
“प्रमुख प्रतिपक्ष र अरू राजनीतिक दलसँग सामान्य परामर्श पनि नगरी हतारमा अध्यादेशबाट कानुन बनाउन खोज्नु बलमिचाइको राजनीति हो। आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ? संसद्को गरिमा र मर्मको किन अवमूल्यन ?” नेता आङदेम्बेको प्रश्न छ।
विगतदेखि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय बहसमा भए पनि यसलाई नयाँ संसद्बाट छिटो टुङ्ग्याउन आवश्यक भएको उनले बताए। यसलाई संवाद, सहमति र संसदीय प्रक्रियाबाट परिपक्व ढङ्गले टुङ्ग्याउन सकिने उनको भनाइ छ।
आङदेम्बेले सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस संसदीय दल सदैव खुला र सहयोगी रहने बताउँदै लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न भने कुनै हालतमा नदिने उल्लेख गरे।
वैशाख १५, २०८३ मंगलबार २२:०४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।