विद्यालयको पौने ९४ लाख हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर

विद्यालयको पौने ९४ लाख हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध विद्यालयको रकम हिनामिना गरेको अभियोगमा मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माण र विद्यालयको नगद मौज्दातमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि-नोक्सानी पुर्याएको आयोगको ठहर छ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७७/७८ मा नमुना विद्यालय भवन निर्माण गर्दा दुई चरणमा भएको प्राविधिक मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी भएको पाइएको छ। 

दमक नगरपालिका र विद्यालयले नियुक्त गरेका परामर्शदाताको मूल्याङ्कन अनुसार भवनको कुल लागत १ करोड ४८ लाख रुपैयाँ हुनुपर्नेमा झुट्टा बिल भरपाई बनाई २ करोड ७ लाख रुपैयाँ भुक्तानी गरिएको देखिएको छ। यसरी भवन निर्माणको शीर्षकमा मात्रै ५९ लाख २६ हजार रुपैयाँ बढी भुक्तानी गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ।

भवन निर्माण बाहेक विद्यालयको अन्य आन्तरिक कोषमा पनि अनियमितता भएको देखिएको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि नै नगद हिनामिना गरी १६ लाख ६० हजार रुपैयाँ बेरुजु कायम गरिएको र १७ लाख ९६ हजार रुपैयाँ विद्यालयको नगद रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको पाइएको छ।

आयोगले दुवै प्रतिवादीलाई कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा १७ बमोजिमको कसुरमा बिगो बमोजिम जरिवाना, कैद सजाय र हिनामिना भएको बिगो रकम असुलउपर गर्न मागदाबी गरिएको छ। 

वैशाख १५, २०८३ मंगलबार २१:०६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।