एन्फाको विवाद सुल्झाउन फिफा र एएफसी बोलाउने तयारी, एन्फा पदाधिकारीको कालोसूची यथावत्

एन्फाको विवाद सुल्झाउन फिफा र एएफसी बोलाउने तयारी, एन्फा पदाधिकारीको कालोसूची यथावत्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली फुटबलमा देखिएको संकट समाधान गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग त्रिपक्षीय संवाद गर्ने तयारी गरेको छ।

पछिल्लो समय नेपाली फुटबलमा ‘तेस्रो पक्षले हस्तक्षेप गरेको’ भन्दै फिफा र एएफसीले वैशाख २१ गतेसम्म विवाद समाधान नगरे नेपाललाई नै निलम्बन गर्ने चेतावनी दिएका थिए। सो चेतावनीपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राखेपबीचको दूरी झन् बढेको थियो।

तर, मंगलबार राखेप र एन्फाका पदाधिकारीबीच भएको छलफलपछि त्रिपक्षीय संवादमार्फत निकास खोज्ने सहमति जुटेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताले छलफल सकारात्मक भएको र फिफालाई नेपालमै बोलाएर निकास खोज्ने तयारी भइरहेको जानकारी दिए।

उनले उकेरासँग भने, “कुराकानी सकारात्मक रूपमा अगाडि बढ्यो। नेगोसिएसनका कुराहरू भए। राखेपले उठाएका विषयमा आज एन्फासँग कुराकानी भयो। त्यही कुराकानीमा एएफसी र फिफालाई नेपाल बोलाउने विषयमा सरसल्लाह र छलफल भएको छ।’

राखेप र एन्फाबीच फिफासँग संवाद गर्ने सहमति भए पनि एन्फा पदाधिकारीहरूमाथिको निलम्बन र उनीहरूको विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् रहेको सदस्यसचिव मेहताले स्पष्ट पारे।

“जबसम्म निलम्बन फुकुवा हुँदैन, तबसम्म विदेश भ्रमण रोकिइरहन्छ। जबसम्म समग्र कुरा टुङ्गिँदैन, यतिमै त कहाँ खुल्छ र!”, उनले भने।

विवादको चुरो र कालोसूची प्रकरण
खेलकुद मन्त्रालय र राखेपको निर्देशनविपरीत एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेको, विदेशी खेलाडीलाई श्रम स्वीकृतिबेगर लिगमा सामेल गराएको र राखेपका निर्णयहरू बारम्बार अवज्ञा गरेको भन्दै गत चैत ११ गते राखेपले एन्फा पदाधिकारीलाई निलम्बन गरेको थियो।

राखेपको कारबाहीपछि एन्फाले चैत १२ गतेका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित गरेको थियो।

यस विवादमा फुटबलको ‘राष्ट्रिय लिग’ पनि जोडिएको छ। फुटबल क्लबहरूले भिजिट भिसामा आएका विदेशी खेलाडीलाई लिगमा सामेल गराएको पाइएपछि गत चैत ५ गते अध्यागमन विभागले एन्फासँग स्पष्टीकरण माग्दै पत्र काटेको थियो।

अध्यागमन कानुनविपरीत कार्य भएको भन्दै विभागले पत्र काटेपछि राष्ट्रिय लिग बीचमै रोकिएको थियो।

यही विवादकै बीच सरकारको पूर्वस्वीकृतिबिना क्यानाडामा हुन लागेको ‘फिफा कंग्रेस’ मा सहभागी हुन जान लागेका एन्फाका २४ जना पदाधिकारी अध्यागमन विभागको कालोसूचीमा परेका छन्।

राखेपको सिफारिसमा गृह मन्त्रालयले बिहीबार २ जना र शुक्रबार २२ जना गरी एन्फा पदाधिकारीलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेहरूमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षहरू दीपक खतिवडा, विराटजङ्ग शाही, दावा लामा, दीर्घबहादुर (कुमार) केसी, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, सीईओ इन्द्रमान तुलाधरसहित कार्यसमितिका १५ जना सदस्य रहेका छन्।

अध्यक्ष नेम्वाङसहितको टोली आगामी वैशाख १७ गतेदेखि क्यानाडाको भ्यानकुभरमा आयोजना हुन लागेको ७६औं ‘फिफा कंग्रेस’ मा सहभागी हुन जाने तयारीमा थियो।

तर, सरकारी अनुमतिबिना नै विदेश जान लागेपछि उनीहरूलाई कालोसूचीमा राखिएको हो। अब उनीहरूले सरकारको अनुमतिबिना विदेश भ्रमण गर्न पाउने छैनन्।

मंगलबार बसेको एन्फा र राखेपको बैठकमा पनि एन्फा पदाधिकारीलाई कालोसूचीबाट हटाउने विषयमा कुनै निर्णय नभएको सदस्यसचिव मेहताले बताए।

वैशाख १५, २०८३ मंगलबार २१:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।